काठमाडौं - केही महिनाअघिसम्म दुध अभाव झेलिरहेका डेरी उद्योगीलाई अहिले भने बढी भएको दुध कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भइरहेको छ ।
हाल नेपालमा दैनिक ६५ लाख लिटर दुध उत्पादन हुन्छ ।अहिले पशुमा लागेको रोगका कारण ५० लाख लिटरमा झरेको छ । यसले यति बेला दुधको हाहाकार हुनुपर्ने थियो तर अहिले तीन लाख लिटरभन्दा बढी दुध बढी भइरहेको छ, जसलाई व्यवस्थापन गर्न डेरीवालालाई धौधौ परिरहेको छ ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए अनुसार अहिले नेपालमा दैनिक तीन लाखभन्दा बढी लिटर दुध धेरै भइरहेको छ । यो सिजनमा दुध बढ्ने होइन, दुध घट्नुपर्ने हो तर एक्कासि दुध बढेर आएको छ, त्यसलाई खपत गर्न धौधौ परेको उहाँको भनाई छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवका अनुसार उपभोक्ताको क्रयशक्ति घटेका कारण धेरैले दुधमा कटौती गरेका छन् । अर्को कारण, लम्पी स्किन हो, किसानका घरमा गाईबस्तुमा यदि रोग लागेको छ भने त्यो दुध आफैँ नखाएर बजारमा नै पठाउने गरेका छन् । तेस्रो कारण, भारतबाट दुध अवैध रूपमा अत्यधिक आउन थालेको छ र चौथो कारण धुलो दुधको प्रयोग ।”
नेपालमा ६५ रुपियाँ लिटर दुध पाइन्छ भने भारतको विहारमा भारु ३४ मा प्रतिलिटर दुध पाइन्छ । भारतभन्दा नेपालमा १० रुपियाँ महँगो भएका कारण सीमावर्ती क्षेत्रका भारतीय किसानले नेपालमा आएर दुध बेचिरहेका कारण नेपालमा दुध अत्यधिक भएको सरोकारवाला बताउँछन् ।
नेपालमा उत्पादन हुने दुधमध्ये ५० प्रतिशत किसान आफ्नै घरमा खपत गर्छन् । बाँकी ५० प्रतिशत दुध बजारमा जान्छ । किसानले आफैँ खपत गर्ने गरेको दुध पनि अहिले बजारमा आउन थालेको छ । एसोसिएसनका अध्यक्ष दाहालले भन्नुभयो, “जसको गोठमै गाई बिरामी परेका छन्, त्यसले लगभग दुध खान छाडी नै सकेका छन् । त्यो सबै दुध बजारमा आउन थालेको छ, त्यसैले गर्दा दुधको फ्लो अलि बढी नै भएको छ ।”
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा वार्षिक कुल दुध उत्पादन २३ लाख एक हजार मेट्रिक टन हुन्छ । कुल दुध उत्पादनको ४० प्रतिशत गाईबाट र ६० प्रतिशत भैँसीबाट भएको देखिन्छ । गाईले औसतमा प्रतिबेत ७८९ लिटर र भैँसीले ८४४ लिटर दुध दिने गरेको देखिन्छ । जुन अन्य देशको तुलनामा उत्पादकत्व अत्यन्तै न्यून हो । तैपनि अहिले दुध बढी भएर मिल्क होलिडे गर्ने अवस्था आएको नेपाल डेरी सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो ।
प्रतिक्रिया