काठमाडौं-दोस्रोपटक थप गरिएको म्यादमा पनि नागढुंगा सुरुङमार्ग आयोजना नबन्ने भएको छ ।
अप्रिल ०२३ सम्म रहेको ठेक्काको म्याद दुईपटक थप गरेर २५ अप्रिल ०२४ सम्म पुर्याइएको छ । तर, आयोजनाको पछिल्लो प्रगतिअनुसार अबको डेढ वर्षपछि अर्थात् जनवरी ०२५ (पुस ) १० मा मात्रै सुरुङमार्ग तयार हुने प्रारम्भिक अनुमान गरिएको छ ।
आयोजनाका परामर्शदाता इन्जिनियर रमेश कोइरालाले ठेक्का अवधिमै आयोजना बन्ने सम्भावना न्यून रहेको बताए । ‘आगामी अप्रिल ०२४ सम्ममा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ । तर, त्यो अवधिमा आयोजनाको निर्माण सम्पन्न हुन सम्भव छैन,’ उनले भने, ‘व्यावहारिक रूपमा भन्नुपर्दा जनवरी ०२५ यता आयोजना तयार हुने अवस्था छैन ।’ ठेक्का सम्झौताअनुसार जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले आयोजना सञ्चालन गर्ने अवस्थामा पुर्याएर सरकारलाई हस्तान्तरण गर्नुपर्छ । त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न अझै डेढ वर्ष लाग्ने उनको भनाइ छ ।
हालसम्म (साढे दुई वर्ष) आयोजनाको समग्र भौतिक प्रगति ५५.१३ प्रतिशत पुगेको छ । यद्यपि, आयोजनाको सुरुङ खन्ने काम ८५ प्रतिशत सकिएको छ ।आयोजनाअन्तर्गत मुख्य र सहायक गरेर दुईवटा सुरु निर्माण हुँदै छन् । त्यसमा दुई हजार पाँच सय ५७ मिटर लामो सहायक सुरुङमार्ग दुई सातामा ब्रेक थ्रु हुँदै छ । सहायक सुरुङमार्गको ४५ मिटरखण्ड मात्रै खन्न बाँकी छ । दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग भने अझै पाँच सय १५ मिटरखण्ड खन्न बाँकी छ ।
अहिले दैनिक आठ–नौ मिटर सुरुङ खनिएको छ, सोअनुसार अझै चार महिना लाग्ने देखिन्छ । तर, यस आयोजनामा सुरुङ ब्रेक थ्र्रु भएर मात्रै हँदैन । त्यहाँभित्रको सडक ढलान गर्नुपर्ने हुन्छ । त्यसका अलावा सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, रेस्क्यु सेन्टर बनाउने, लाइट जडान गर्ने, तामक्रम मिलाउनेलगायतका काम बाँकी नै छ । त्यसका लागि ६ महिनाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।
सम्झौताअनुसार गत अप्रिल ०२३ भित्र आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, बीचमा कोरोनाका कारण काम नभएपछि ८६ दिन म्याद थपेर जुलाई ०२३ सम्म पुर्याइएको थियो । त्यस अवधिमा पनि आयोजनाको निर्माण नसकिने देखिएपछि पुनः नौ महिना म्याद थप गरेर २५ अप्रिल ०२४ सम्म पुर्याइएको छ । त्यसरी दोस्रोपटक थप गरिएको म्यादमा आयोजना नबन्ने पक्का भएको छ ।
नेपालको पहिलो आधुनिक सुरुङमार्ग बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा छोटिनेछ । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको यो सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गर्नेछ ।
प्रतिक्रिया