बाँकी १३ वटा प्याकेजमा भेटिएन सुन

विहीबार, ०४ साउन २०८०, १५ : ५७

काठमाडौँ-  तस्करीको सुनसँगै क्याथे प्यासेफिकको विमानबाट आएका बाँकी प्याकेजहरुमा पनि सुन हुनसक्ने आशङ्कामा राजश्व अनुसन्धान विभागको टोलीले जाँच गरेको छ । यद्यपि, ती प्याकेजहरूमा सुन भने फेला नपरेको विभागले जनाएको छ ।


करिब १ सय किलो अवैध सुन भित्र्याएको रेडी ट्रेड प्रालिले नै मगाएको अर्को खेप सामान रहेको सूचनामा विभागको टोली त्रिभुवन विमानस्थल भन्सार कार्यालय आइपुगेको थियो । यद्यपि, विमानबाट अन्य कम्पनीको नाममा आएका सामानहरू भेटिएको हो ।


भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार सो विमानबाट ३६ वटा प्याकेज आएका थिए । कार्यालयमा १३ वटा प्याकेज बाँकी रहेका थिए । ‘अपरेसन गर्दा केही पनि फेला परेन,’ पौडेलले भने । गोदाममा अन्य सामानको पनि चेकजाँच गर्ने तयारी गरिएको छ ।

यसअघि, विभागकै टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो समातेको थियो । सुन असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको थियो । क्याथे प्यासेफिकको उडानमार्फत आएको सामान मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ ।

रेडी ट्रेड प्रालिको कार्यालय बुढानीलकण्ठमा रहेको अनुसन्धानबाट थाहा भएको छ । रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेका थिए । राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले आजको अर्थलाई बताए ।

विहीबार, ०४ साउन २०८०, १५ : ५७

प्रतिक्रिया