काठमाडौं - भारतले चामल निर्यातमा रोक लगाएको छ। भारतको उपभोक्ता मामिला मन्त्रालयले आफ्नो देशमा चामलको सुनिश्चितता र घरेलु बजारमा मूल्य वृद्धि कम गर्न बासमतीबाहेकका अरू चामलमा रोक लगाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
गत वर्ष भदौ अन्तिमदेखि भारतले कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। बासमती र उसिनाबाहेकका अरू चामल र धान निर्यातमा भने २० प्रतिशत कर लगाएको थियो। नेपाललाई भने वार्षिक ६ लाख मेट्रिक टन धानको कोटा निर्धारण गरी भन्सार छुट दिएको थियो।
नेपालमा पनि ठूलो परिमाणमा भारतीय चामल भित्रिने गरेको छ। नेपालमा धेरै भित्रिने भनेको जिरा मसिनो र मोटा चामल हो। बासमती, ब्राउन राइस र अरू प्रकारको पनि भित्रिन्छ तर यिनको हिस्सा कम छ।
भारत विश्वकै प्रमुख चामल निर्यातकर्ता हो। विश्वव्यापी चामल व्यापारमा भारतको हिस्सा ४० प्रतिशत रहेको तथ्याकंले देखाउछ । चामल व्यापारमा ठूलो हिस्सा ओगटेको भारतले निर्यातमा रोक लगाउँदा उसको उब्जनीमा निर्भर देशहरूमा खाद्य असुरक्षा बढ्ने भारतीय विश्लेषकहरूले बताएका छन्।
मन्त्रालयका अनुसार हामीकहाँ चामलका लागि वार्षिक ६६ लाख मेट्रिक टन धानको माग छ। त्यसमध्ये देशमै उत्पादन हुने ५६ लाख मेट्रिक टन हो। यो भनेको राम्रो उत्पादन भएका बेलाको औसत परिमाण हो। हाम्रो माग पूरा गर्न बाँकी १० लाख मेट्रिक टन धान भारतबाट आयात हुने गरेको छ।
यो धानको ६० प्रतिशत बराबर चामल बन्छ। यस हिसाबले हाम्रो बजारमा करिब ४० लाख मेट्रिक टन चामलको माग छ। यसमध्ये करिब ६ लाख मेट्रिक टन चामलको माग हामीले भारतबाट ल्याएर पूरा गरिरहेका छौं। यो परिमाणमा धान भित्र्याएर बनाइएको चामल पनि पर्छ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसारहाम्रो आफ्नो उत्पादनबाहेकको परिमाण भारतबाटै ल्याइने भएकाले उसले चामलमा रोक लगाउँदा हाम्रो आपूर्तिमा प्रभाव पर्ने देखिन्छ भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९ र ८० को जेठसम्म (पछिल्लो तथ्यांक) भारतबाट दुई लाख १७ हजार मेट्रिक टन (कनिका र ब्राउन राइसबाहेक) चामल आयात भएको छ। यसमा बासमती चामलको हिस्सा थोरै भएको व्यवसायीहरूले बताएका छन्। यो अवधिमा धान भने पाँच लाख मेट्रिक टन आयात भएको छ।
प्रतिक्रिया