मिटरव्याजीले हडपेको जमिन पीडितले फिर्ता पाउछन् : आयोग

शनिबार, ०६ साउन २०८०, ०८ : ०४

काठमाडौं- मिटरब्याजीले हड्पेको सर्वसाधारणको करिब चार बिघा जमिन फिर्ता हुने भएको छ । 

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोग र सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयन्त्रको पहलमा जिल्लाका मिरटब्याजी पीडितको तीन बिघा १० कट्ठा १२ धुर जमिन सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको मिटरव्याज पीडित जाँचबुझ आयोगले जनाएको छ ।

पीडित नागरिकले चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) को हातमा गएको जमिन फिर्ता पाउने भएका हुन् । आयोगले विभिन्न जिल्लामा करिब साढे २६ करोड भन्दा बढी रुपैयाँ रकम उल्लेख गरिएका कागजपनि नष्ट गरेको जनाएको छ ।

यसअघि मिटरब्याजी पीडितले संघर्ष समिति नै गठन गरेर सरकारविरुद्ध दबाब बढाएपछि चैत १८ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयले पाँचबुँदे सहमति गर्दै चर्को ब्याज असुल्नेमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो ।
 

शनिबार, ०६ साउन २०८०, ०८ : ०४

प्रतिक्रिया