मौद्रिक नीतिको प्रतिक्षामा ४ हजार गाडी भन्सारमा रोकिए

आइतबार, ०७ साउन २०८०, ०७ : १९

काठमाडौं-  मुलुकका विभिन्न ठूला भन्सार नाकाहरुमा महिनौदेखि ४ हजारभन्दा बढी सवारीसाधन रोकिएका छन् । 

वीरगञ्जमा २ हजार २ सय, भैरहवामा १ हजार ५ सय, रसुवागढीमा ३ सय र चोभारमा करिव ३० वटा गाडी रोकिएका छन्। सवारीसाधन बिक्री गर्ने व्यवसायीहरुका अनुसार बजारमा माग कम भएकाले गाडीको भन्सार जाँचपास नगरिएको हो। माग कम हुनुमा धेरै कारण भए पनि चालु मौद्रिक नीतिको व्यवस्था सबैभन्दा ठूलो रहेको उनीहरुको भनाइ छ। 

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले विभिन्न कम्पनीका सवारीसाधन ल्याउने व्यवसायीहरुले भन्सारसम्म गाडी ल्याएर पनि जाँचपास नगरेको जानकारी दिए। उनका अनुसार जाँचपास नभएर भन्सार नाकाहरुमा रोकिएका सवारीसाधनको संख्या ४ हजार ३० छ। रोकिएका सवारीसाधन जाँचपास गराएको भए सरकारलाई झण्डै ७ अर्ब राजस्व आउने थियो।

यो वर्ष भन्सार राजस्व कम हुनुमा यी सवारीसाधन जाँचपास नहुनु पनि एउटा कारण रहेको उनले बताए । निर्देशक खड्काका अनुसार वीरगञ्ज, भैरहवा, रसुवागढी र चोभार भन्सारमा गरी यो संख्यामा सवारीसाधन रोकिएका हुन् । बैंकहरुले गाडी खरिदमा दिने गरेको अटो लोनमा कडाइ गर्दा व्यवसायीले भन्सारमा गाडी रोकेको हुन सक्ने खड्काले बताए ! केही व्यवसायीहरुले आगामी मौद्रिक नीति कुरेर बसेको बताउने गरेको पनि उनले सुनाए।

                                                                                                                                                                                                                               कारोबार दैनिक  

आइतबार, ०७ साउन २०८०, ०७ : १९

प्रतिक्रिया