एक वर्षमा ९ हजार ९९१ मेट्रिक टन अलैंची निर्यात

बुधबार, १० साउन २०८०, ०८ : ०३

काठमाडौं- नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको खेती हालसम्म ३६ जिल्लामा फैलिएको छ। यद्यपि अलैँची लगाइएको ९७ प्रतिशत क्षेत्र पूर्वाञ्चलका १२ जिल्लामा र बाँकी तीन प्रतिशत मात्रै अरू विकास क्षेत्रमा पर्दछ। 

नेपालमा सबैभन्दा बढी अलैँची खेती गर्ने जिल्लाहरुमा ताप्लेजुङ्ग,,संखुवासभा र इलाम पर्दछन्। कुल १३ हजार १९२ हेक्टर क्षेत्रमा लगाइएको अलैँचीमध्ये ११ हजार ४९८ हेक्टर अर्थात् ण्डै २ लाख ३० हजार रोपनीमा उत्पादन दिने अवस्थाका बोटहरू यी जिल्लाहरुमा छन् । लगाएको तीनचार वर्षपछि फल्न थाल्ने अलैँची २५, ३० वर्षसम्म फलिरहन्छ।

नेपालबाट धेरै निकासी हुने वस्तुहरु मध्येमा अलैची पनि पर्छ । भखरै सकिएको आर्थिक वर्ष २०७९ र ८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको ९ हजार ९९१ मेट्रिक टनभन्दा केही बढी अलैंची निर्यात गरेको तथ्यांक भन्सार विभागसँग छ ।

आव २०७९ र ८० को निर्यात अघिल्लो वर्षको तुलनामा मूल्यका हिसाबले ७१ दशमलव ९५ र परिमाणका हिसाबले ८६ दशमलव १५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८ र ८९ मा नेपालबाट ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ मूल्यको ५ हजार ३६७ मेट्रिक टन अलैची निर्यात भएको देखिन्छ । अचम्मको सत्य चाहिँ नेपालबाट निकासी हुने अलैंचीको शतप्रतिशत जस्तो भारत जान्छ ।

गत आर्थिक वर्षमा निकासी भएको अलैंचीको ९९ दशमलव ५५ प्रतिशत अंश भारत गएको देखिन्छ । गतवर्ष भारतमा ८ अर्ब २५ करोड ५९ लाख रुपैयाँ मूल्यको ९ हजार ९४६ मेट्रिक टन अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । 

बुधबार, १० साउन २०८०, ०८ : ०३

प्रतिक्रिया