को हुन ? नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्ष बनेका अनुराग गोयल

९ महिना अगाडि

काठमाडौं - नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईइएफ) को अध्यक्षमा अनुराग गोयल चयन भएका छन्।

मञ्चको वार्षिक साधारणसभाले सन् २०२३–२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। मञ्चको बिहीबार काठमाण्डौमा भएको वार्षिक साधारणसभामा अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्रको सुदृढीकरणमा उद्यमीहरुको महत्वपूर्ण भूमिमा रहेको बताए। 

स्थापित युवा उद्यमीहरुलाई उद्यम बन्ने नवीनतम सोच राखेका युवाहरुसँग सहकार्य गर्दै अगाडि बढाउन उनले आग्रह पनि गरे। मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि आफूले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री महतले अर्थतन्त्र सुधारका पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको बताए। 

नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एमिरेट्स विनोद चौधरीले नयाँ सोच, योजना र लक्ष्य लिएर अगाडि बढेका युवाहरुलाई थोरै मात्र भएपनि प्रोत्साहन गर्दा उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान हुने बताए। उनले उद्यमशीलताका माध्यमबाटै देशको आर्थिक विकास हुने भएकाले युवाहरुलाई प्रोत्साहन गर्ने नीति लिन आग्रह गरे। 

यसैगरी परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजीकरण र प्रोत्साहनको आवश्यकता रहेको बताए। देशमा रोजगारी बढाउन र औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन गरिनुपर्नेमा उनले जोड दिए। 

परिसंघका उपाध्यक्ष एवं मञ्चका कन्भेनियर रोहित गुप्ताले मञ्चले उद्यमशीलता विकास, स्टार्टअपको प्रबद्र्धनमा केन्द्रित रहेर काम गर्दै आएको बताए। उनले राज्यले नवप्रवर्तन र युवाउद्यमीलाई सहजीकरण गरिदिने हो भने देशमा केही गरौँ भनेर लागेका युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्ने बताए। 

नवनिर्वाचित अध्यक्ष अनुराग गोयल गोयल ग्रुपका प्रबन्ध निर्देशक हुन्। उनी उत्पादनमूलक उद्योग, बैंक, फाइनान्स तथा इन्स्योरेन्स, रियल स्टेट, खानी, जलविद्युतलगायतका क्षेत्रमा संलग्न छन्। गोयलले भारतस्थित सिम्बायोसिस इन्टरनेसनल युनिभर्सिटीबाट फाइनान्समा स्नातकोत्तर तहको अध्ययन गरेका छन्। 
 

९ महिना अगाडि

प्रतिक्रिया