१५ करोडको डायपर निर्यात

शनिबार, १३ साउन २०८०, १३ : २९

काठमाडौँ - बच्चाको डायपर उत्पादन गर्दै आएको ब्रजेश्वरी इन्डस्ट्रिज प्रालिले ७ महिनादेखि उत्पादन विदेश निर्यात गर्न थालेको छ । उद्योगले उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, महाराष्ट्रलगायत भारतको उत्तरपूर्वी क्षेत्रमा निर्यात गर्दै आएको छ । निकट भविष्यमा अफ्रिकी र युरोपेली मुलकमा पनि निर्यातको तयारीमा उद्योग जुटेको छ । 

उक्त उद्योगले भैरहवामा शुक्रबार आयोजित आफ्ना डिलरमिट तथा पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष एसपी ढकालले विगत सात महिनामा करिब १५ करोड रुपैयाँ मूल्यको बच्चाको डायपर भारतमा निर्यात गरेको बताए ।

‘निकट भविष्यमै अफ्रिकी र युरोपेली मुलुकमा निर्यातका लागि हामी तयारी गर्दैछौं,’ ढकालले भने, ‘गुणस्तरीय उत्पादनलाई पहिलो प्राथमिकता दिइएकाले हाम्रो उत्पादन निर्यात प्रक्रियाले छोटो समयमै सफलता प्राप्त गर्दै जान थालेको हो ।’

ढकालका अनुसार उद्योगले घाना, यूएई र बंगलादेशमा सामान निर्यातको तयारी गरेको छ । करिव १ अर्ब रुपैयाँको लगानीमा विगत दुई वर्षदेखि नवलपरासीको रामग्राममा उद्योग सञ्चालनमा छ ।

उद्योगले अब बच्चाका साथै वयष्क र वृद्धहरूलाई हुने डायपर पनि उत्पादन गर्न थालेको छ । उद्योगमा १ सयभन्दा बढी प्रत्यक्ष रोजगारीमा संलग्न छन् । नेपालभरि करिब १ सय डिलर रहेको उद्योगले जनाएको छ ।

शनिबार, १३ साउन २०८०, १३ : २९

प्रतिक्रिया