मुख्य सूचकहरुमा प्रभु बैंकको आकर्षक प्रगति,नाफाको लेखाजोखा सहित

शनिबार, २० साउन २०८०, ०९ : ४४

काठमाण्डौं- प्रभु बैंकले गत आर्थिक वर्ष २०७९–८० मा खुद नाफा बढाएको छ। 

 सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसर्थ बैंकको नाफा स्वरुप ४८.५४ प्रतिशतले बढेको हो ।  बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ रहेको छ। 

बैंकको सञ्चालन मुनाफा ४ अर्ब २० करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ७४ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ४७.५२ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। 

बैंकको रिजर्भको आकार ८५.३६ प्रतिशतले बढेर १० अर्ब २ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ अर्ब ४० करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

अघिल्लो वर्ष बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। समीक्षा अवधिमा निक्षेप संकलन ६१.८२ प्रतिशत र कर्जा लगानी ६३.८५ प्रतिशतले बढेको छ। यसले बैंकले आफ्नो व्यापार आक्रामक ढंगले अगाडि बढाएको देखिन्छ। 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर १२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.९७ रुपैयाँ थियो। पीई रेसियो १३.१३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४३.२५ रुपैयाँ रहेको छ। 

 

शनिबार, २० साउन २०८०, ०९ : ४४

प्रतिक्रिया