सिद्धार्थ बैंकको सन्तुलित वित्तीय विवरण ,वित्तीय अवस्थामा कति सुधार ?

सोमबार, २२ साउन २०८०, ०९ : ४४

काठमाडौं- सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९ र ८० को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

 बैंकले चौथो त्रैमासमा उल्लेखनीय प्रदर्शन गर्दै आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको छ। प्रकाशित वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा रु ३ अर्ब १९ करोड खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा रु २८ करोड ७६ लाख अर्थात् ९.९१ को वृद्धि हो । बैंकको वितरणयोग्य नाफा रु ७९ करोड ५७ लाख रहेको छ । यस वर्षको नाफाबाट रु १ अर्ब ४६ करोड ऋणपत्रको लागि पूँजी फिर्ता जगेडा कोषमा विनियोजन गरेको कारण वितरणयोग्य नाफामा कमी देखिएको हो ।

फलस्वरुप प्रकासित वित्तीय विवरणमा ५.६५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखिए तापनि सो कोषमा छुट्टाइएको रकमलाई समायोजन गर्दा बैंकको वास्तविक वितरणयोग्य नाफा १६ प्रतिशत  रहेको देखिन्छ । बैंकले जारी गरेको ऋणपत्रको लागि आफ्नो नाफाबाट प्रत्येक वर्ष निश्चित रकम विनियोजन गर्नपर्ने हुन्छ र यसरी विनियोजीत रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई बोनस शेयरको रुपमा वितरण गर्न सकिन्छ । यसर्थ, हाललाई वितरणयोग्य नाफा गणना गर्दा उक्त रकम वितरणयोग्य नाफाबाट घटाइए तापनि ऋणपत्र परिपक्व भए पछि पूँजी फिर्ता जगेडा कोषमा विनियोजीत रकम शेयरधनीलाई नै लाभांशको रुपमा वितरण गर्ने गरिन्छ । तसर्थ बैंकको वास्तविक वितरणयोग्य नाफा रु। २ अर्ब २५ करोड अर्थात १६ प्रतिशत  देखीन आउछ । यसरी विनियोजन गरेको रकमले बैंकको पूँजी तथा जगेडा कोष मजबुत बनाउँदछ ।

२०८० असार मसान्तमा बैंकको चुक्ता पूँजी रु १४ अर्ब ८ करोड रहेको छ भने जगेडा कोष रु ११ अर्व ३७ करोड रहेको छ । बैंकको इक्विटि रु २५ अर्व ४६ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षमा रु २१ अर्ब ५९ करोड रहेको थियो । बैंकले यस आर्थिक वर्षमा मात्रै रु ३ अर्ब ८६ करोड अर्थात् १७.९५ ले इक्विटि वृद्धि गर्दै बैंकलाई थप मजबुत बनाएको छ । बैंकले कर्जा नोक्सानी व्यवस्था वापत इम्पेयरमेन्ट चार्ज अन्तर्गत रु १ अर्ब १२ करोड यस वर्ष मात्रै खर्च लेखाङ्कन गरेको छ । यसका वाबजुत पनि बैंकको खुद व्याज आम्दानी र शुल्क तथा कमिशन आम्दानीमा भएको वृद्धिले गर्दा खुद नाफा रु २९ करोडले वृद्धि भएको छ ।  बैंकको खुद व्याज आम्दानी अघिल्लो आर्थिक वर्षमा भन्दा करिब २४५ अर्थात रु १ अर्ब ५८ करोडले बढेर रु ८ अर्ब १७ करोड आर्जन गर्न सफल भएको छ । त्यसै गरी गत आर्थिक वर्षमा खुद शुल्क तथा कमिशन आम्दानी करिब १२५ (रु १४ करोड) ले वृद्धि भई रु १ अर्ब ३६ करोड कमाएको छ । बैंकको खुद व्यापारिक आम्दानी तथा अन्य संचालन आम्दानीमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको छ ।

यस अन्तर्गत मुख्यतया विदेशी विनिमय सम्बन्धीत आम्दानी तथा शेयर लगानी गर्दा प्राप्त हुने लाभांश आम्दानी पर्दछ । गत आर्थिक वर्षको एघार महिनामा देशको आयातमा १६५ ले कमी आएको छ र यसले गर्दा बैंकको विदेशी विनिमय सम्बन्धीत आम्दानीमा प्रभाव पारेको देखिन्छ । त्यस्तै, देशको पूँजी बजारमा परेको प्रभावले गर्दा बैंकको लाभांश आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको छ । बैंकको कर्मचारी तथा अन्य संचालन खर्च रु। ३४ करोडले वृद्धि भए तापनि संचालन मुनाफा करिब रु ४२ करोड ९१ प्रतिशत ले वृद्धि भई रु ४ अर्व ६८ करोड आर्जन गरेको छ । बैंकले चौथो त्रैमासमा उल्लेखनीय प्रदर्शन गर्दै अघिल्ला तीन त्रैमाससम्म आर्जन गरेको खुद नाफाभन्दा चौथो त्रैमासमा मात्र आर्जन गरेको खुद नाफा बढि रहेको छ । 

बैंकले गत आर्थिक वर्षमा ग्राहकको निक्षेपमा रु ३२ अर्ब १० करोडले उल्लेख्य वृद्धि गरी रु २२३ अर्ब ६५ करोड पुर्याउन सफल भएको छ । गत आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १२.२५ ले वृद्धि भएको छ भने सिद्धार्थ बैंकको गत आर्थिक वर्षमा १६.७६ प्रतिशत ले वद्धि भएको देखिन्छ । बैंकको कर्जा तथा सापट सामान्य २.२८ प्रतिशत  ले वृद्धि भई रु १८ अर्ब २१ करोड पुगेको छ । प्रतिकूल बजार अवस्थाका कारण बैंकको निष्कृय कर्जामा केही वृद्धि भई २.०१ प्रतिशत पुगेको छ जुन गत आर्थिक वर्ष १.०७प्रतिशत  रहेको थियो । अघिल्लो तेस्रो त्रैमासमा ३.९५ प्रतिशत  रहेको निष्कृय कर्जा अनुपातमा उल्लेख्य सुधार गर्दै १.९४ प्रतिशत ले कमी आएको छ । बैंकको गैर बैंकिङ्ग सम्पत्ति रु ६५ करोड पुगेको छ जुन गत आर्थिक वर्ष रु २१ करोड मात्र रहेको थियो । गैर बैंकिङ्ग सम्पत्ति सकार गरेको कारणले पनि बैंकको निष्कृय कर्जामा कमी आएको हो ।

 

 

सोमबार, २२ साउन २०८०, ०९ : ४४

प्रतिक्रिया