तनहुँमा उत्पादित कागतीको बजारीकरणमा कृषि ज्ञान केन्द्रको पहल

मंगलबार, २३ साउन २०८०, ०९ : २९

काठमाडौं- तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ ।

कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालिमाटी तरकारी तथा फलफूल बजार समितिका कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिनुभयो । 

उहाँले फलफूल समितिको कार्यकारी निर्देशक डिपी पुडासैनी र व्यवसायी हरिप्रसाद शर्मासँग तनहुँमा उत्पादित कागती बिक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कागतीले बजार नपाएपछि किसान समस्यामा परेकाले बजारको सहजीकरणको पहल गरेका हौँ । छलफल सकारात्मक भएको छ ।”

छलफलका क्रममा गुणस्तरीय कागती उत्पादन हुनसके फलफूल बजारले कागती खरिद गर्ने विषयमा सहमतिसमेत भएको छ । समितिको कार्यकारी निर्देशक पुडासैनीले यहाँ दैनिक १५ हजार कागतीको माग रहेको र अधिकांश कागती भारतबाट आउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “९५ प्रतिशत भारतीय कागती आउँछ, नेपाली कागती आउन सके किसानले राम्रो मूल्य पाउन सक्छन् ।”

कागतीका मुख्य व्यवसायी शर्माका अनुसार कालिमाटी तरकारी बजारमा किसानले कागती बिक्री गर्दा प्रतिकिलो रु एक सयदेखि रु एक सय २० प्राप्त गर्न सक्नेछन् । उहाँका अनुसार टिपेको चाररपाँच दिनसम्म ल्याउँदा मूल्य राम्रो पाउने र त्यसपछि ल्याएको कागतीको गुणस्तर कम हुने भएकाले मूल्यमा समस्या हुने गरेको छ । 

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा कागतीखेतीतर्फ कृषकको आकर्षण बढेको छ । केन्द्रले कागतीखेती कृषकलाई बगैँचासम्म पुगेर आवश्यक परामर्श दिने गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९ र ८० मा जिल्ला रु २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन् । पाँच सय हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ । 

मंगलबार, २३ साउन २०८०, ०९ : २९

प्रतिक्रिया