नयाँ डिजाइनमा ५ रुपैयाँको सिक्का टकमरी गरिदै

बुधबार, २४ साउन २०८०, ०७ : ५३

काठमाण्डौ-   सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो । हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएकोमा अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंक ‘नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५(पहिलो संशोधन, २०७५’मा नयाँ डिजाइन हुने सिक्काको टकमरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि मात्रै  गर्न सक्ने व्यवस्था छ । पुरानै डिजाइनको सिक्का पुनः टकमरी भने राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृतिबाटै गर्न पाइने व्यवस्था छ । ५ रुपैयाँ दरको नयाँ सिक्का नयाँ डिजाइनमा आउने छ । सिक्काको नयाँ डिजाइनमा नेपालको संस्कृति झल्कने र राष्ट्रिय जनावर पनि अंकित हुने बैंक स्रोतको भनाई छ।

नेपालमा यसअघि पनि ५ रुपैयाँको सिक्का प्रचलनमा रहेको थियो । राष्ट्र बैंकले हाल ५ रुपैयाँ दरको नोट छपाइ गर्दै आएको भए पनि सिक्का टकमरी भने गर्ने गरेको थिएन । ५ रुपैयाँ दरको नोटको आयु कम हुने र छपाइ लागत बढी पर्ने भएकोले सिक्का टकमरी गर्न लागेको हो । 

 ५ रुपैयाँ मात्रै नभई त्यसभन्दा बढी दरका सिक्का पनि टकमरी गर्ने योजना रहेको स्रोतले जानकारि दिएको छ । नोटको आयु १ देखि ३ वर्ष हुन्छ । सिक्काको आयु २० वर्ष भनिए पनि ४० वर्षसम्म पनि यसलाई प्रचलन गर्न सकिने देखिएकाले लागत पनि कम हुने राष्ट्र बैंक टक्सार विभाग प्रमुख आचार्य बताउँछन् ।

‘१ रुपैयाँ र २ रुपैयाँ दरको सिक्काको खरिद क्षमता कमजोर भयो । त्यसैले ५ रुपैयाँको सिक्का प्रचलनमा ल्याउन लागिएको हो,’ उनले भने, ‘५ रुपैयाँको सिक्का पनि सानो हुन्छ । ५० रुपैयाँसम्मको सिक्का निष्कासन गर्नुपर्छ ।

बुधबार, २४ साउन २०८०, ०७ : ५३

प्रतिक्रिया