किन बोलाए अर्थमन्त्रीले आकस्मिक छलफल ?

आइतबार, २८ साउन २०८०, १७ : २२

काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महतले आकस्मिक रुपमा गभर्नर महाप्रसाद अधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई छलफलका लागि बोलाएका छन् । आइतबार साझ ५ बजे अर्थमन्त्रालयमा नै बैंकर्सलाई छलफलका लागि बोलाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । 

 खासगरी बैंकको ब्याजदर कसरी घटाउन सकिन्छ ?सो विषयमा गभर्नरसहित बैंकका सीईओहरुसँग आन्तरिक छलफलका लागि बैठक डाकिएको स्रोतको भनाइ छ ।
हाल बैंकमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुँदा पनि बैंकहरुको चर्को ब्याजका कारण लगानीको वातावरण बन्न नसकेपछि सरकार सहजिकरण गर्न लागि परेको हो । 

साउन महिनाका लागि बैंकहरुले आपसी प्रतिस्पर्धामा निक्षेपको ब्याजदर तोकेपनि आशातित रुपमा ब्याजदर घट्न नसकेको र अन्ततः यसले कर्जाको ब्याजसमेत नघटेपछि अर्थमन्त्री बैंकर्ससँग छलफलमा जुटेका हुन् । 
हाल बैंकहरुले निक्षेपमा ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । आगामी भदौ महिनामा पुनः बैंकहरुले मिलेर (कार्टेलिङ) बैंक ब्याजदर तोक्ने तयारी गरेसँगै अर्थमन्त्रीले अग्रसरता लिएको बुझिएको छ । 
 

आइतबार, २८ साउन २०८०, १७ : २२

प्रतिक्रिया