एसपी १६० उत्पादनसँगै होन्डाको एक्सब्लेडको उत्पादनमा बन्द

८ महिना अगाडि

काठमाडौं- होन्डाले १६० सीसी सेग्मेन्टमा स्पोर्टी कम्यूटर मोटरसाइकल ल्याएसँगै एक्सब्लेडको उत्पादन बन्द गरेको छ ।

कम्पनीले केहि दिन अघि मात्र एसपी १६० सार्वजनिक गरेको थियो। होन्डाले यूनिकर्न १६० को इन्जिनमा ल्याएको नयाँ स्पोर्टी मोटरसाइकलले टीभीएस अपाचे आरटीआर १६० टू भीसँग प्रतिस्पर्धा गर्ने स्रोतको जानकारी छ ।

योसँगै कम्पनीले एक्सब्लेडको उत्पादन बन्द गरेको हो । कम्पनीले हालका लागि नयाँ डिजाइनमा ल्याएको एसपी १६० मा फोकस हुने योजना अनुरुप एक्सब्लेडको उत्पादन बन्द गरेको हो । निकट भविष्यमा कम्पनीले परिमार्जन सहितको एक्सब्लेड ल्याउन सक्ने अनुमान गरिएको छ ।

होन्डाले एक्सब्लेडमा १६२.७ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन प्रयोग गरेको थियो । नयाँ एसपी १६० मा पनि यही इन्जिनको प्रयोग गरिएको छ । एसपी १६० मा बीएस ६ फेज टू इन्जिन उपलब्ध छ । यो इन्जिनले १३.४६ बीएच पावर र १४.७ एनएम टर्क प्रदान गर्छ ।

कम्पनीले लामो समयदेखि बिक्री गर्दै आएको होन्डा साइन एसपीको नेम प्लेटमा यूनिकर्ननको इन्जिन राखेर नयाँ भर्सन ल्याएको हो । यसको एलईडी हेडल्याम्प, एसपी- १२५ को डिजाइनसँग मिल्दो रहेको छ । यसको रियरमा भी-सेप एलईडी टेल लाइट दिइएको छ ।

डिजिटल एलसीडी इन्स्ट्रमेन्ट क्लस्टरको साथ आएको एसपी-१६० को स्कृनमा गियर इन्डिकेटर, फ्यूल लेभल, ट्रिप मिटर, माइलेजको अवस्था हेर्न सकिन्छ । यसको फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा मोनोशक सस्पेन्सनका साथ सिंगल च्यानल एबीएस उपलब्ध छ ।

८ महिना अगाडि

प्रतिक्रिया