आयात कोटा बढाउन व्यवसायीको लबिइङ, १ सय ९५ किलो सुन बैंकमा थुप्रियो

बुधबार, ३१ साउन २०८०, ०९ : ३०

काठमाडौँ - बैंकमा झन्डै दुई किलो सुन थुप्रिँदा गहना व्यवसायीहरूले भने सुन आयातको कोटा बढाउन ‘लबिइङ’ थालेका छन् । 

चाडबाडसँगै बिहेको सिजन नजिकिएको र माग बढ्ने भन्दै उनीहरूले सुनको कोटा बढाउन ‘लबिइङ’ थालेका हुन् । व्यवसायीले अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र राष्ट्र बैंकका पदाधिकारीलाई भेटेर सुनको आयात कोटा बढाइदिन आग्रह गरेका छन् ।

आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कोटा प्रणाली लागू गरेको छ । कोटा प्रणालीअनुसार वाणिज्य बैंकले दिनको १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । आयात कोटा बढाएर कम्तीमा २५ किलो पुर्‍याइदिन उनीहरूले आग्रह गरेका हुन् ।

‘सुनको आयात कोटा नबढेको करिब ३ वर्ष भयो । कोभिडअघि दिनको कोटा २० किलो थियो, आयात रोकिएपछि कोटा १० किलोमा झारियो । चाडबाड र सिजन आउन लागेकाले माग बढ्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष पवनकुमार सोमानीले भने, ‘आयात कोटा बढाउने सन्दर्भमा ३ र ४ पटक बैठक बसिसक्यौं, राष्ट्र बैंकले बैंक र व्यवसायी सबैका लागि आयात खुला गर्नुपर्छ भन्ने हाम्रो सुझाव हो । 

त्यो गर्न नसके भन्सार दर १५ प्रतिशतबाट घटाएर साढे १२ प्रतिशतसम्म पुर्‍याउने र दैनिक कोटा २० प्रतिशत गर्नुपर्छ ।’ महासंघका अनुसार कोटाले विकृति ल्याएको छ । भन्सार ग्यापका कारण तस्करी बढेको छ । वाणिज्य बैंक र व्यवसायीका लागि आयात खुला हुँदा प्रतिस्पर्धा भई मूल्य पनि घट्छ । 

सुन बिक्रीवितरण निर्देशिका ०६८ मा सुन आयात गरेका आधारमा वाणिज्य बैंकलाई ०.५ प्रतिशत मुनाफा राख्न पाउने व्यवस्था गरेको छ । व्यवसायीले पनि सुन बिक्री गर्दा ०.५ प्रतिशतसम्म मुनाफा राख्न पाउने सरकारले कार्यविधि बनाइदिएको छ । तर बैंकहरूले १ प्रतिशतसम्म मुनाफा राख्दै आएको महासंघले जनाएको छ ।

भदौमा दैनिक माग १५ किलोभन्दा बढी पुग्ने व्यवसायी बताउँछन् । माग बढेर २५ किलोसम्म पुग्ने महासंघको दाबी छ । तर, वाणिज्य बैंकको सुन भने बिकेको छैन ।

नेपाल बैंकर संघका अनुसार नयाँ आर्थिक वर्षमा २ सय किलो सुन आयात भएकामा ५ किलो मात्रै बिक्री भएको छ । ‘बैंकहरूले साउनमा २ किलो सुन आयात गरे । गत शुक्रबारसम्म १ सय ९५ किलो सुन बैंकमै छ । बिक्री भएको छैन,’ एक बैंकरले भने । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि गत चैतमा पनि वाणिज्य बैंकहरूमा १ सय ८५ किलो सुन स्टक थियो । स्टक बढ्न थालेपछि वाणिज्य बैंकहरूले सुन आयात बन्द गरेका थिए । अहिले फेरि स्टक देखिएको छ । तर व्यवसायीले आयात कोटा बढाउनुपर्ने बताउँदै आएका छन् ।
 

बुधबार, ३१ साउन २०८०, ०९ : ३०

प्रतिक्रिया