किन घट्यो मकवानपुरको निर्यात दर ?

शनिबार, ०२ भदौ २०८०, ११ : ४४

काठमाडौँ - मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात हुने दर घटेको छ । विभिन्न प्रतिकुलताका कारण उत्पादन नै घटेपछि निर्यात दर पनि घटेको हो ।

 तथ्याङ्क अनुसार मकवानपुरबाट भारत तथा अन्य मुलकसँगको निर्यात व्यापार बर्सेनि घट्दो छ । आर्थिक वर्ष २०७९/०८० को तुलनामा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरको निर्यात व्यापार दर केही बढी थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरमा सञ्चालित निर्यातजन्य उद्योग र व्यावसायिक प्रतिष्ठानबाट १ अर्ब ५५ करोड ५६ लाख ८० हजार रुपैयाँको निर्यात भएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । संघका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ४८ करोड ६६ लाख ६९ हजार रुपैयाँको मात्र निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मकवानपुरको निर्यातजन्य उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट हुने निर्यात व्यापार १ अर्ब ६ करोड ९० लाख ११ हजार रुपैयाँले घटेको संघको तथ्याङ्क छ ।

मकवानपुरमा संघले उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरमा सञ्चालित ४ उद्योग र एउटा व्यापारिक प्रतिष्ठानले भारत र तेस्रो मुलुकमा खाद्य पदार्थसहित औद्योगिक उत्पादन निर्यात गरेका थिए । एडभान्स टेक्नोलोजी एन्ड मेसिन नेपालले फोहोर प्रशोधन गर्ने उपकरण जापान निर्यात गरेको थियो । उक्त उद्योगले उत्पादन गरेको उपकरणलाई संघले उत्पत्तिको प्रमाणपत्र जारी गरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा मकवानपुरबाट २३ करोड ६२ लाख ६४ हजार रुपैयाँको निर्यात व्यापार भएको छ भने आर्थिक वर्ष २०७६/०७७ मा २५ करोड ५७ लाख ७३ हजार रुपैयाँको निर्यात भएको संघको तथ्याङ्क छ ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४२ करोड ६८ लाख ९८ हजार रुपैयाँको निर्यात गरेको गोदावरी पोलिप्याक्सको व्यापार घटेर निर्यात दरमा प्रभाव परेको छ । सो कम्पनीले गत आर्थिक वर्षमा ७२ लाख ४७ हजार ५२६ रुपैयाँको उत्पादित सामग्री निर्यात गरेको थियो । 

 

शनिबार, ०२ भदौ २०८०, ११ : ४४

प्रतिक्रिया