प्रधानमन्त्री  ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच आइतबार भेटवार्ता

आइतबार, ०३ भदौ २०८०, १३ : २१

काठमाडौँ-  राष्ट्रिय खेलकुद परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच आइतबार भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्ताका क्रममा नेपालमा रग्बी खेलको विकासको विषयमा छलफल भएको हो । 


प्रधानमन्त्री दाहालले नेपाललाई विश्वास गरेर लगातार दुईवटा प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएकोमा एसिया रग्बी र अध्यक्ष कायसलाई धन्यवाद दिए । ‘एसिया रग्बीले नेपाललाई विश्वास गरेर दुईवटा प्रतियोगिता आयोजन गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्रीले भने । 

प्रधानमन्त्री दाहालले वर्तमान सरकार खेलकुद क्षेत्रको विकासमा प्रतिबद्ध रहेको पनि बताए । ‘हाम्रो सरकार र मेरो प्राथमिकतामा खेलकुद क्षेत्र र युवाहरूको विकासमा केन्द्रीत छ । त्यहीअनुसार नै अन्य खेलसँगै रग्बीको विकासमा पनि सरकारले सहयोग गरिरहने छ,’ प्रधानमन्त्रीले भने । 

सो अवसरमा एसिया रग्बीका अध्यक्ष कायसले नेपाल सरकारले रग्बी खेल विकासमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । साथै नेपाल रग्बी संघले लगातार दुई वर्ष एसिया रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिरहेको र उक्त आयोजना सरकारको सहयोग बिना सम्भव नभएको कायसले बताए । 

‘नेपालले पछिल्ला समय रग्बी खेलमा निकै विकास गरेको छ । सरकारको सहयोग बिना त्यो सम्भव थिएन । एसिया रग्बीको तर्पmबाट धन्यवाद दिन चाहन्छौं,’ अध्यक्ष कायसले भने । भेटका क्रममा विश्व रग्बी युनियनका एसियाका लागि पार्टनरसिप म्यानेजर रिड्ज्याल स्याट, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाको पनि उपस्थिति रहेको थियो । 

आइतबार, ०३ भदौ २०८०, १३ : २१

प्रतिक्रिया