गाडी किन्न मासिक कमाई कति हुनुपर्दछ ?

आइतबार, १० भदौ २०८०, ०७ : ३८

काठमाडौं- तपाई गाडी किन्ने सोचमा हुनुहुन्छ वा मेरो कमाईले फाईनान्स मार्फत गाडी किन सकिएला कि सकिदैन होला भनेर सोचिरहनु भएको छ । यदि तपाईले आफ्नो आयश्रोतलाई दिमागमा राखेर गाडी किन्नेबारे सोचिरहनुभएको छ भने तपाईको लागि यो जानकारी लाभदायक हुन सक्नेछ । 

नेपालमा गाडीको मूल्य न्यूनतममा २० लाख रुपैयाँबाट सुरू हुन्छ । तर, २० लाख मूल्यमा किन्न पाइने गाडीमा रहेका फिचर धेरैलाई मन नपर्न पनि सक्छ । त्यसैले यहाँ आफ्नो परिवारका सदस्यलाई पनि मन पर्ने कार किन्ने हो भने सुरूआती मूल्य ३० लाख रुपैयाँसम्मको उपयुक्त हुन सक्दछ ।  

 ३० लाख पर्ने कार किन्न चाहिने रकम जोहो कसरी हुन्छ भन्ने कुरा तपाईको दिमागमा आएको हुनुपर्छ १ व्यक्तिले निजी गाडी खरिद गर्छ भने राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार खरिद मूल्यको ५० प्रतिशत रकम अनिर्वाय डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । त्यो भनेको १५ लाख रुपैयाँ नगद नै जम्मा भएको हुनुपर्छ ।

अब १५ लाख डाउन पेमेन्टपछि बाँकी १५ लाख रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ। गाडीको लागि बैंकहरूले ५ देखि ७ वर्षको कर्जा अवधि तोकेर ऋण दिन्छन् । यदि तपाईंंको कमाई धेरै हुन्छ र किस्तामा ३४ हजार हाराहारी किस्ता तिर्न सक्नु हुन्छ भने ५ वर्षको लागि कर्जा लिँदा हुन्छ । होइन २७ र२८ हजार मासिक किस्ता तिर्दा सहज हुन्छ भने ७ वर्षको लागि कर्जा लिनु वुद्धिमानी हुन्छ ।

इलेक्ट्रीक कारमा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ । थोरै डाउन पेमेन्ट गर्दा मासिक किस्ता धेरै तिर्नु पर्ने हुन्छ । मासिक किस्ता तिर्न पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा धेरै मासिक आम्दानी हुनुपर्छ ।

यसका लागि मासिक कमाई कति हुनुपर्छ त भन्ने अर्को जिज्ञासा दिमागमा आउन सक्छ त्यसको लागि सरकारले गाडी किन्ने मानिसको कर योग्य आय हुनु पर्ने प्रावधान बनाएको छ । यस प्रावधान अनुसार तपाईंंको यसअघि कर्जा छैन भने ६० हजार मासिक आम्दानी हुँदा पनि ३० लाखको गाडी तपाईं खरिद गर्न सक्नु हुन्छ ।

होइन यसअघि तपाईंंले मासिक किस्ता तिर्ने घर, जग्गा वा अन्य कुनै कर्जा बैंकबाट लिनुभएको छ भने तपाईंंको ६० हजार रुपैयाँ कमाइकै आधारमा गाडी कर्जा लिन सक्नु हुन्न । यदि तपाईंंको अर्को कर्जा छ र गाडीको लागि कर्जा खोज्दै हुनुहुन्छ भने यी दुवै कर्जाको मासिक किस्ता जोडेर आउने रकमभन्दा दोब्बर आम्दानी तपाईंले गर्नु पर्ने हुन्छ । जस्तो कि तपाईंले घरको मासिक किस्ता ३५ हजार तिर्दै हुनुहुन्छ र कारको लागि २८ हजार मासिक किस्ता हुन्छ भने दुवै जोड्दा ६३ हजार रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

मासिक ६३ हजार रुपैयाँ किस्ता तिर्न तपाईंको कर तिरेको आम्दानी मासिक १ लाख २६ हजार रुपैयाँ हुनुपर्छ । गाडीको मूल्यको आधारमा मासिक किस्ता फरक हुने नै भयो । यदि तपाईं मासिक १ लाख किस्ता तिर्ने किसिमको गाडी किन्नु हुन्छ भने तपाईंको कर तिरेको आम्दानी २ लाख हुनुपर्छ । होइन तपाईं २५ हजार मासिक किस्ताको कार खोज्दै हुनुहुन्छ भने कम्तीमा तपाईंको आम्दानी ५० हजार रुपैयाँ भए पुग्छ ।

जति महंगो गाडी त्यति धेरै किस्ता रकम पर्ने हुन्छ । सरकारले कर्जामा गरेको कडाइको कारण पनि निजी साधन किन्न मानिसलाई कठिन हुँदै गएको छ । त्यसैले गाडी बिक्रेताहरूले परिवारमा १ जनाभन्दा धेरै कमाई गर्ने मानिस छन् भने सबैको आम्दानी जोड्न पाउनुपर्ने व्यवस्था गर्न माग गर्दै आएका छन् ।

आइतबार, १० भदौ २०८०, ०७ : ३८

प्रतिक्रिया