अकबरे खुर्सानीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै भोजपुरका किसान

मंगलबार, १२ भदौ २०८०, १० : ३८

काठमाडौं- व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।

स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ ।

यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् ।  विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई  खेतीमा प्रोत्साहन गरेको छ । पौवादुङमाका किसानले उत्पादन भएको खुर्सानी तिवारी भञ्याङ बजार तथा अन्य जिल्लामा निर्यात गर्दै आएका छन् ।

यही क्षेत्र भएर मध्यपहाडी लोकमार्गअन्तर्गत सवारीसाधनको आवतजावत हुने भएकाले उत्पादन भएको खुर्सानी बिक्री वितरण गर्न सहज भएको पौवादुङमा–२ तिवारीभञ्याङका किसान टीकाराम तिवारीले बताउनुभयो । गाउँमा उत्पादन भएको खुर्सानी सङ्कलन गरेर दैनिकजसो बाहिरी जिल्लाका बजारमा पठाउँदै आएको तिवारीले जानकारी दिनुभयो ।

खुर्सानी बिक्रीबाट वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी लिने गरेको किसान तिवारीले बताउनुभयो । यहाँका एक किसानले सरदरमा वार्षिकरूपमा रु ५० हजारदेखि रु पाँच लाखसम्म आम्दानी लिने गरेको त्यहाँको किसानको भनाई छ । 

 खुर्सानी खेतीका लागि गाउँपालिकाले आवश्यक सहयोग गरेकाले थप सहज भएको किसानको भनाई छ । खुर्सानी खेती गाउँपालिकाको राम्रो आम्दानीको स्रोत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उहाँको भनाइ छ । गाउँपालिकाले भूगोलअनुसारको बालीमा जोड दिएको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।
 

मंगलबार, १२ भदौ २०८०, १० : ३८

प्रतिक्रिया