सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला बनाउन महानगर तयार छ : बालेन

७ महिना अगाडि

नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका छन् ।

नेपाल र भारतबिच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउनका निमिक्त आफूले पहल गर्ने घोषणा गरेका हुन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा महानगरले पहल गर्ने पनि बताएका छन् ।    

‘फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनको कर्मचारीको प्रश्न थियो– यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ’ बालेनले फेसबुकमा लेखेका छन्, ‘श्रीलंकाको अध्यागमन चकित पर्ने गरीको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए, त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०–५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो ।’

नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेको उल्लेख गर्दै उनले अनुमानित हिसाबका आधारमा त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड हुन सक्ने जनाएका छन् । ‘टीभीमा देखिने विराट, रोहितहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । 

विश्वकै उत्कृष्ट खेलाडीहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वाभाविक पनि थिएन,’ बालेनले लेखेका छन्, ‘तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरुको हाउभाउ पूरै रक्षात्मक बनिसकेको थियो । ठिक त्यहि बेला हामीले क्रिकेट जित्यौँ ।

अन्तिम नतिजा जे आए पनि हामीले यस पटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ ।’  उनले लेखेका छन्, ‘यसैले नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।’ यस्तोमात्रै रंगशाला र केही ठुला खेलहरु हुने हो भने खेलको विकास हुन सक्ने बालेनले प्रस्ट पारेका छन् । ‘एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ ।

७ महिना अगाडि

प्रतिक्रिया