कोरियामा मौसमी कामदार पठाउने सम्झौता नभएको स्पष्ट

७ महिना अगाडि

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियासँग मौसमी कामदार पठाउने कुनै पनि सम्झौता नभएको स्पष्ट पारेको छ। 

श्रम प्रवक्ता डण्डुराज घिमिरेको हस्ताक्षरसहितको मौसमी कामदार लैजाने प्रक्रिया सुरु भएको भन्दै नक्कली सूचना सामाजिक सञ्जालमा भेटिएपछि श्रम मन्त्रालयले बिहीबार एक विज्ञपित जारी गर्दै मौसमी कामदार पठाउने सम्झौता कोरियासँग नभएको स्पष्ट पारेको हो। नक्कली सूचनामा कात्तिक २२ गतेसम्ममा १२ हजार मौसमी नेपाली कामदार पठाउन कोरियासँग सम्झौता भएको उल्लेख छ।

 सामाजिक सञ्जालहरुमा प्रसारित नक्कली प्रेस विज्ञप्तिमा विश्वास गरी अनावश्यक रुपमा भ्रममा नपर्न पनि मन्त्रालयले आग्रह गरेको छ। आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत मन्त्रालयले सचेत गराएको छ। विज्ञप्तिमा भनिएको ‘प्रचलित कानुनविपरीत भएका÷हुने गतिविधिलाई नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सदैव क्रियाशील रहेको व्यहोरा अनुरोध गर्दै वैदेशिक रोजगारीको प्रक्रिया सुरु गर्नुपूर्व आधिकारिता यकिन गरेरमात्र वैदेशिक रोजगारीको प्रक्रिया थालनी गर्नुहुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ।’

सहसचिव डण्डुराज घिमिरेको हस्ताक्षरसहितको लेटरप्याडको दुरुपयोग गरी दुष्प्रचार गरी भ्रम सिर्जना गर्नेलाई अनुसन्धान तथा कारबाहीको प्रक्रिया सुरु गरिएको पनि विज्ञप्तिमा जनाइएको छ। 

७ महिना अगाडि

प्रतिक्रिया