नेप्सेमा सुचीकृत १९ वटा वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंकबाट लाभांश घोषणाको शुरुवात गरेको छन् । वाणिज्य बैंकहरुले अहिले दशैं अगाडी नै लाभाशं वितरण गर्ने भएका छन्,जस अन्तर्गत गत आर्थिक वर्षको खुद नाफाबाट ५ वाणिज्य बैंकले ५ देखि १० प्रतिशतको हाराहारीमा मात्रै लाभांश वितरण गर्ने क्षमता राखेको छ ।
सिद्धार्थ बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंक कम लाभांश वितरण गर्ने सम्भावना भएका बैंकहरू हुन्। सिद्धार्थ बैंकको ५.६५ प्रतिशत, सिटिजन्स बैंकको ७.३ प्रतिशत, एनएमबि बैंकको ८.४४ प्रतिशत, ग्लोबल आइएमई बैंक ८.२७ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्छन्। गत वर्ष एनएमबी बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले नगद लाभांश मात्रै बाँडेको थियो ।
यस वर्ष पनि एनएमबी बैंक र सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकले त्यही प्याटर्नमा लाभांश बाँडने अपेक्षा गर्न सकिन्छ । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले बैंकहरुको पुँजी वृद्धिले लाभांश क्षमता र्हास हुँदै गएको र आगामी दिनमा नगदमा नै जोड दिनुपर्ने बताउँदै आएका छन् । गत आर्थिक वर्ष सबैभन्दा सर्वाधिक धेरै नाफा गर्ने बैंकको सूचीमा रहेको ग्लोबल आइएमई बैंकले लाभांश वितरण क्षमता १० प्रतिशतभन्दा न्यून रहेको छ। ७ अर्ब २५ करोड नाफा गरेको यस बैंकको चुक्ता पुँजी बढी भएकाले प्रतिसेयर लाभांश न्यून भएको हो।
३५ अर्ब ७७ करोड चुक्ता पुँजी रहेकोले यस बैंकको लाभांश कम देखिएको हो। चुक्ता पुँजीको तुलनामा नाफा कमाउन नसक्दा बैंकको लाभांश घटेको हो। यस बैंकले जनता बैंक र बैंक अफ काठमाण्डूलाई १ बराबर १ स्वाप अनुपातमा एक्वायर गरेकाले पनि बैंकको चुक्ता पुँजी बढेको हो।
विगतमा सर्वाधिक लाभांश वितरण गर्दै आएको नबिल बैंकको लाभांश क्षमता यसपटक घटेको छ। अघिल्लो आर्थिक वर्ष करिब ३० प्रतिशत लभांश वितरण गरेको यस बैंकले गत वर्षको मुनाफाबाट १४.४६ प्रतिशत मात्रै लाभांश वितरण गर्ने क्षमता रहेको देखिन्छ। गएको आर्थिक वर्ष सर्वाधिक ७ अर्ब ५२ करोड नाफा गरेको नबिलको लाभांश वितरण क्षमता करिब ५० प्रतिशतले घटेको छ।
विगतमा अत्याधिक बोनस सेयर वितरण गरेको र अघिल्लो वर्ष नेपाल बंगलादेश बैंकलाई १ बराबर ०.४ स्वाप अनुपातमा प्राप्ति गरेकाले बैंकको चुक्ता पुँजी वृद्धि हुँदा यस बैंकको लाभांश क्षमता घटेको हो। ग्लोबल आइएमई बैंकपश्चात नेपाल बंगलादेशको चुक्ता पुँजी सर्वाधिक धेरै २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ। यस्तै गत आर्थिक वर्षको नाफाबाट कृषि विकास बैंकले १४.९२ प्रतिशत, नेपाल एसबीआई बैंकले १३.९३ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १४.५९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता छ।
प्रतिक्रिया