सहकारीले बचत फिर्ता नगरेको भन्दै कारबाही माग सहित उजुरी

बुधबार, २७ भदौ २०८०, ०७ : १४

बुटवलमा रहेको सुप्रिम  बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेको भन्दै कारबाहीको लागि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा उजुरी परेको छ।

सहकारीले रु एक अर्ब बढी बचतकर्ताको निक्षेप जोखिममा पारेको भन्दै रकम फिर्ताको माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती  उपत्यका देउखुरीमा उजुरी परेको हो । बुटवल उपमहानगरपालिका–९ मा मुख्य कार्यालय स्थापना गरेर सञ्चालन भएको सहकारी संस्थामा बचत गरेका दुई सय बढी बचतकर्ताले लिखित उजुरी दिएका हुन् ।

एक वर्षदेखि बचत रकम फिर्ताको माग राख्दा पनि सहकारी संस्थाले फिर्ता नगरेपछि बाध्य भएर कानुनी उपचारमा जानुपरेको बचतकर्ता देवीलाल भट्टराईले बताउनुभयो । उहाँले एक वर्षदेखि बचत फिर्ता नपाएपछि उजुरी गर्नुपरेको बताउनुभयो ।

मुद्दती, मासिक, दैनिक र खुला बचतमार्फत सहकारीले रकम असुल गरेको देखिन्छ । सहकारी संस्थाका सञ्चालक र पदाधिकारीलाई नियमानुसार कारबाहीको माग गरिएको छ ।

सहकारी दर्ता अधिकारी कार्यालयका रजिस्ट्रार भीमप्रसाद तिवारीले सहकारीको रकम हिनामिना गर्ने सहकारी संस्थालाई नियमानुसार कारबाही हुने बताउनुभयो । उहाँले बचतकर्ताको उजुरी आएको र थप अध्ययन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताउनुभयो ।

बुधबार, २७ भदौ २०८०, ०७ : १४

प्रतिक्रिया