वाण गङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पङ्गेनी र दशरथले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेका छन् । उनको फूल खेतीमा पुग्दा जो सुकैको मन आनन्दित हुन्छ । तिहार लक्षित गरेर रोपिएका सयपत्री सबैको ध्यान तान्ने भएका छन् । भास्करसँगै व्यवसायमा जोडिएका प्राविधिक सहायक दशरथले फूल खेतीको प्राविधिक पक्ष हेर्ने गरेका छन् ।
कृषि प्राविधिक पढेर कृषिमा लागेका दशरथले फूल खेती अवलोकन गर्न आउनेहरूलाई प्राविधिक ज्ञान दिने गरेका छन् । कपिलवस्तुमा पाँच वर्ष पहिले देखि फूल खेती गरिसकेका भास्कर र दशरथले दुई वर्षअघि देखि दाङमा व्यावसायिक फूल खेती विस्तार गरेका छन् ।
दाङको घोराही-१५ भरतपुरमा १७ कट्ठा र घोराही-१२ शिवपुरमा १३ कट्ठा जमिन भाडामा लिएर उनीहरूले व्यावसायिक फूल खेती गरेका छन् । गत वर्ष तिहारको समयमा फूल मात्रै १३ लाखको बिक्री गरेको दशरथले बताए । तिहारभन्दा पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक सपोर्ट’ बनाएर पाँच लाख आम्दानी गरेको उनले बताए ।
यसपालि एकै याममा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ । गत वर्ष कर्मा पाँच सय ५५ जातको सयपत्री फूल खेती गरेका थिए भने यसपालि ‘कर्मा त्रिपल एक ओ रेन्ज’, ‘कर्मा त्रिपल आठ एल्लो ’, ‘कर्मा त्रिपल फाइभ ओ रेन्ज’, सेतो हजारी, कलकत्ते रेन्जलगायत जातका सयपत्रीका बिरुवा रोपिएका छन् । एक लाख तीन हजारको बीउ किनेर बेर्ना राखेको दशरथले बताए । सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर बेर्ना उमारेको उनले जानकारी दिए ।
उनले भने, “यसपालि दुई लाख बिरुवा बेर्ना बिक्री भइसक्यो, बिरुवाको जात हेरेर दुईदेखि ५० सम्ममा बिक्री हुने गरेको छ, बेर्ना बिक्री गरेर पनि आम्दानी गर्ने गरेका छौँ ।” कपिलवस्तुमा पहिलेदेखि नै फूल खेती भइरहेको तथा यस वर्षदेखि कोहलपुर र कैलालीमा फूल खेती विस्तार गरिएको उनले बताए ।
युवाहरू वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्करको भनाइ छ । बेरोजगार युवाहरूलाई कृषिमा जोड्ने उद्देश्यले उक्त फार्मको नाम नै एक सय आठ राखेका छन् । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ ।यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको उनले बताए ।
जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने उनी बत्ताउँछन् । यसपालि फूल खेतीको क्षेत्र विस्तार गरेकाले उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने उनको धारणा छ ।
प्रतिक्रिया