मुस्ताङमा स्याउ टिप्न सुरु बारीमै पुग्छन् खरिदकर्ता , स्याउ उत्पादनमा २०% कमी

मंगलबार, ०२ असोज २०८०, ०८ : २१

हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ। मुस्ताङको मार्फा, टुकुचे , कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन्। स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैँचा स्याउले राताम्य भएका छन्।

पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन्। मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको व्यवसायी सुशिलबाबु  थकालीले जानकारी दिएका छन् । 

विगतका वर्षहरुमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकामा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा नै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न सुरु गरिएको हो ।अहिले स्याउ खरिद गर्नका लागि स्थानीय व्यापारीसहित बाहिरी जिल्लाका व्यापारी स्याउ बगैँचामा पुगेका किसानहरूले बताएका छन्। मुस्ताङका किसानले फलाएका स्याउ खरिद गर्न व्यापारीले स्याउको बगैँचा नै ठेक्कामा लिन्छन्। 

मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनी बजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौँ, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली तथा विदेशी बजारमा पुग्ने गरेको छ। मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ भने वार्षिक झन्डै छ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ। मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ। 

निजी तथा सरकारी जग्गामा गरेर मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ भने वार्षिक झन्डै छ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ। मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, फुजी डेलिसियस जातका बाहेक  केही समयदेखि उच्च घनत्वको इटालियन जातको स्याउसमेत लगाइएको छ।

विगतका वर्षमा तीज भन्दा अगाडि नै बजारमा स्याउ पुर्याउदा   गुणस्तरीय स्याउ नपुगेको कारण गत वर्षबाट असोज १ गतेबाट मात्रै स्याउ टिप्ने निर्णय गरिएको थियो । हाल  मौशसमा  आएको परिवर्तनका कारण मुस्ताङमा २० प्रतिशत स्याउ उत्पादनमा कमी आएको व्यवसायी शुशिल बाबु थकालीले आजको अर्थलाई बताएका छन् । पहिले पहिले एउटै बोटमा २ देखि ३ सय किलोसम्म स्याउ फल्ने गरेको थियो हाल उक्त बोटमा २०, २५ किलो मात्रै स्याल फल्ने गरेको थकालीको भनाई छ ।  

मंगलबार, ०२ असोज २०८०, ०८ : २१

प्रतिक्रिया