नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारी बैङ्कबाट बाहिरिने भएका छन् । नेपाल बैङ्कमा सीईओको रूपमा ४ वर्षको कार्यकाल सकिएसँगै अधिकारी बैङ्कबाट बाहिरिने भएका हुन् ।
वि.सं.२०७६ असोज १४ गते नेपाल बैङ्कको सीईओमा नियुक्त भएका अधिकारी असोज १४ गते बैङ्कबाट बाहिरिन लागेका हुन् । बैङ्क सञ्चालक समितिले उनलाई दोस्रो कार्यकालका रूपमा नियुक्त गर्न आनाकानी गरेपछि अधिकारीले बैङ्कबाट बाहिरिने निर्णय गरेको बुझिएको छ ।
बैङ्कको सञ्चालक समितिले नयाँ सिइओ नियुक्तिको प्रक्रिया पनि अगाडि बढाइसकेको छ । बैङ्कका सञ्चालक समिति सदस्य आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सिइओ छनोट समिति गठन गरिएको छ। बैङ्क स्रोतका अनुसार आगामी बिहीबार बस्ने सञ्चालक समितिको बैठकले नयाँ सीईओका लागि आवेदन आह्वान गर्नेछ ।
२०७६ मा खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका अधिकारीले १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै बैङ्कको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकालमा नेपाल बैङ्कले फड्को मारेको छ ।
प्रतिक्रिया