काठमाडौँ- विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ ।
विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो । हरेक दिन तीन शो मञ्चन भइरहेको नाटकको बुकिङ धमाधम भइरहेको आयोजकले जनाएको छ ।
मुनामदनको नाट्य रुपान्तरण तथा निर्देशन युवासाहित्यकार कटवाल दीपकले गरेका हुन् । कलेज र विद्यालयहरूले अग्रिम शो बुकिङ गरिरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।नाटकका सबै कलाकार विद्यार्थी हुन् । युवापुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न मञ्चले प्रेरित गर्दै आएको छ ।
मञ्चनमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी आबद्ध छन् । नाटकमा तिनै विद्यार्थीले अभिनय गरेका छन् । यस अगाडी पनि यो नाटक विराटनगर, काठमाडौ, पोखरा र विराटचोकमा मञ्चन भइसकेको थियो ।दर्शकले नाटक मन पराएको बताउँदै मञ्चका अध्यक्ष कटवाल दीपकले भने, ‘उति बेला युवाहरू रोजगारीको खोजीमा ल्हासा जान्थे, अहिले खाडी जान्छन्, पीडा उस्तै छ ।’
देवकोटाको सबैभन्दा चर्चित र लोकप्रिय कृति हो मुनामदन । ‘आफ्ना सबै कृति जलाइदिए पनि मुनामदन चाहिं नजलाउदिनू’ भनेर देवकोटाले प्राण त्यागेका थिए ।नाटकमा लकेश दंगाल, मिलन चाम्लिङ राइ, रस्मी थापा, सुजता थापा, अतित निरौला, प्रदिप दाहाल, निर्जल पौडेल, दिवस ढकाल, एलिजा ठाकुर, आकृती थापा, सचिन लिम्बु, लिला लिम्बु र मलिना तामाङको अभिनय रहेको छ । नाटक असोज १६ गतेसम्म मञ्चन हुनेछ ।
प्रतिक्रिया