इजिप्टमा आयोजना भइरहेको ‘एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइआइबी) को वार्षिक बैठकको एउटा सत्रमा अर्थमन्त्री महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराएर सहयोग गर्न विश्व समुदाय, दातृ निकाय, विकास साझेदारलगायत द्विपक्षीय तथा बहुपक्षीय निकायहरूसँग आग्रह गरेका छन्।
आर्थिक रुपमा पछि परेका मुलुकहरुको पूर्वाधार विकास आवश्यकता पूर्ति गर्नका लागि सहुलियतपूर्ण वित्तीय सहयोगको आवश्यकता रहेको औँल्याउदै वित्तीय लगानीका नयाँ स्रोत खोजिनुपर्ने महतको भनाइ छ।
“अहिले विश्वले मुख्य तीनवटा चुनौतीको सामना गरिरहेको छ । विश्व अर्थतन्त्रमा सन्तुलन कायम गर्ने, शून्य कार्बन उत्सर्जनतर्फको लक्ष्य हासिल गर्ने र न्यून तथा मध्यम आय भएका मुलुकको वित्तीय पहुँच बढाई गरिबी घटाउने तथा नागरिकको जीवनस्तर सुधार्ने गरी काम गर्नुपर्ने छ”, अर्थमन्त्री महतले भनेका छन् , “यसका लागि थप वित्तीय लगानी आवश्यक भएकाले सहुलियतपूर्ण वित्तीय सहायतासहित समन्वय र सहकार्यका लागि बहुपक्षीय विकास बैंकहरु तथा अन्तरराष्ट्रिय दातृ निकायसँगलाई आग्रह गर्दछु ।”
नेपालजस्तो कमजोर अर्थतन्त्र भएको मुलुकको विकासका लागि सहुलियतपूर्ण ऋण महत्वपूर्ण रहेकाले त्यस्तो सहयोग उपलब्ध गराउन एआइआइबीसँग अर्थमन्त्री महतले प्रस्तावसमेत राखेका छन् । आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय पहुँच विस्तार, प्रविधि र क्षमता विकास, सामाजिक सुरक्षालगायतका लागि थप लगानी आवश्यक रहेको अर्थमन्त्री महतले बताएका छन् ।
प्रतिक्रिया