वैदेशिक व्यापार: साउन र भदौ महिनामा दुई खर्ब ३३ अर्ब व्यापार घाटा

विहीबार, ११ असोज २०८०, १० : १४

 भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्क लाई आधार मानेर हेर्दा २०८० र ८१ को सुरुवाती दुई महिनामा मुलुकले कुल दुई खर्ब ८६ अर्ब १९ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ बराबर घाटा व्यहोरेको  छ।

चालु आर्थिक वर्ष २०८० र ८१ मा मुलुकले दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात भने जम्मा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँमा खुम्चिएको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्यांकअनुसार  गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ। यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच दशमलव ३२ प्रतिशतको गिरावट देखिएको हो। 

 नेपालले भारतबाट मात्र गत साउन र भदौ महिनामा एक खर्ब ६० अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा १६ अर्ब ७३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। अर्थात् नेपालले यो अवधिमा भारतसँग मात्र एक खर्ब ४४ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरको  छ। त्यस्तै, चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। 

 नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ। साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड रुपैयाँ बराबरको निर्यात गरेको देखिन्छ। 

विहीबार, ११ असोज २०८०, १० : १४

प्रतिक्रिया