चाडपर्व विशेष : ग्राहकको पर्खाइमा बसेको न्यूरोडका व्यवसायी निराशामा

आइतबार, १४ असोज २०८०, १० : २०

हिन्दु नेपालीहरूको मुख्य चाड दसैँ आउन २ हप्ता बाँकी। दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको लर्को लाग्नुपर्ने हो । तर अवस्था भने त्यसको विपरीत बनेको छ ।

तीज सकिए लगत्तै बजारमा दसैँको चहलपहल सुरु हुनुपर्ने हो तर यस पटक भने बजार सुनसान छ बनिरहेको छ । मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको राजधानीको निकै व्यस्त रहने न्यूरोडमा  दसैँ, तिहार, छठ लगायत चाडपर्व नजिकिएसँगै थामी नसक्नु भिड हुन्थ्यो । पसलहरू सामान किन्ने ग्राहकले भरिभराउ हुन्थे । सडक अनि गल्लीमा पनि उस्तै भिड देखिन्थो तर अहिले अवस्था ठिक उल्टो छ ।

अहिले तिनै ठाउँहरूमा न त धेरै भिडभाड छ । न त व्यवसायीको मुहारमा चमक नै ,ऋण गरेरै भए पनि सामानले पसल भरिभराउ त पारेका छन् । तर किन्ने ग्राहक छैनन् । दोहोरो कुरा गर्न समेत फुर्सद नहुने न्यूरोड , असन, इन्द्रचोक लगायत मुख्य व्यापारिक केन्द्रहरू अहिले सुनसान छन् । कोही व्यवसायीहरू ग्राहकको बाटो कुरेर बसेका छन् भने कोही मोबाइल चलाएर दिन कटाई रहेका छन् । ग्राहक नआएकै कारण दुई पसलेहरूबिचमा गफ चुटेर बस्ने पर्याप्त समय मिलेको छ यो बेला व्यवसायीलाई । 

आर्थिक मन्दीको चपेटाले व्यापार व्यवसाय तग्रिन  सकेको छैन । थोरै चहलपहल देखिए पनि व्यापार चित्त बुझ्दो भएको छैन। असन, न्यूरोडका  अधिकांश पसल सुनसान छन् । सामान हेर्न समेत ग्राहक आउन छाडेपछि निराशा छाएको व्यवसायीहरूको भनाई छ । कोभिड-१९ को महामारीले थिलथिलो पारेको व्यापार अझै उठ्न सकेको छैन।

विगत तीन वर्षदेखि सुस्ताएको व्यापार यस वर्ष त चलायमान हुन्छ भन्नेमा व्यवसायीहरू ढुक्क थिए तर दसैँ नजिकिँदै गर्दा पनि व्यापार ठप्प हुँदा उनीहरू अतालिएका छन् । अर्थतन्त्र चलायमान नबन्दा कतिपय व्यवसायीहरू व्यवसायबाटै पलायन भइसकेका छन् भने कयौँ विस्थापित हुने अवस्थामा पुगेका छन् । दसैँमा पनि व्यवसाय तग्रिन  नसकेका धेरै व्यवसायी पलायन हुने जानकारहरू बताउँछन् ।

यस वर्षको व्यापार आशाभन्दा पनि निराशाजनक रहेको व्यवसायी नारायण ढकाल बताउँछन् । बाहिरबाट न्यूरोडमा  आउने क्रेतामा पनि उत्साह घटेको उनको भनाइ छ । चार पाँच महिनादेखि निरन्तर रूपमा व्यवसाय सङ्कट बढ्दै गइरहेको उनले बताए । उनका अनुसार तीजमा समेत सोचे जस्तो व्यापार हुन नसकेको र दसैँमा पनि त्यसको प्रभाव पर्ने देखिएको बताएका छन् ।  

न्यूरोडमै  कपडा व्यवसाय सञ्चालन गर्दै आएका दिनेश केसीले ग्राहक आउँछन् कि भनेर बाटो कुरेरै बितेको बताएका छन्। अघिल्लो वर्षहरूको तुलनामा यस वर्ष व्यापार झनै खस्किएको उनको भनाइ छ । सिजनकै बेलामा समेत व्यापार नहुँदा देशभरका व्यवसायी निराशामा रहेका छन् , आर्थिक सङ्कटकै कारण बजारमा किनमेल गर्नेको सङ्ख्या घटेसँगै खरिद गरेको सामान कट्दैन कि भन्नेमा समेत चिन्ता थपिएको व्यवसायीको गुनासो छ ।  

आइतबार, १४ असोज २०८०, १० : २०

प्रतिक्रिया