टिमुर उत्पादनका अब्बल मानिएको दाङमा यो वर्ष भने टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८ र ७९ को तुलनामा आव २०७९ र ८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो ।
जिल्लाबाट आव २०७८ र ७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९ र ८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृतले जानकारी दिएका छन् ।
अधिकृत भक्तबहादुर चौधरीका अनुसार गत वर्ष करिब एक लाख ५५ हजार आठ सय ३६ किलो टिमुर कम बिक्री भएको छ ।आव २०७८ र ७९ मा राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो टिमुर जिल्ला बाहिर बिक्रीका लागि लगिएको थियो।
आव २०७९ र ८० मा राष्ट्रिय वनबाट १३ हजार किलो र निजी वनबाट ७२ हजार नौ सय छ किलो बिक्री हुँदा रु एक लाख ४५ हजार मात्रै राजस्व सङ्कलन भएको छ । आव २०७८र७९ मा राष्ट्रिय वनबाट ४४ हजार एक सय किलो तेज पात, तीन हजार किलो अमला, ४३ हजार १० किलो रिट्ठा, एक हजार पाँच सय किलो बर्रो, लहरे गुर्जो दुई हजार पाँच सय केजी, ब्राह्मी एक हजार, चुत्रोको बोक्रा दुई हजार किलो बिक्री भएको छ ।
गत वर्ष जिल्लामा टिमुर कम उत्पादन हुँदा बिक्रीमा पनि कमी आएको चौधरीले बताएका छन् । हिउँदमा पानी नपर्दा टिमुर उत्पादनमा कमी आएको हुनसक्ने भन्दै सहायक वन अधिकृत चौधरीले भने, “जिल्लाबाट बिक्री भएको टिमुरको परिमाणलाई हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा गत आव करिब दोब्बर कम मात्रामा टिमुर बिक्री भएको छ ।”
टिमुर उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बङ्गला चुली गाउँपालिकासहित घोराही र तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा टिमुर खेती हुने गरेको छ ।
प्रतिक्रिया