आर्थिक मन्दीले सर्वसाधारण र उद्योगी खर्च गर्न डराइरहेका छन्ः परिसंघ

विहीबार, १८ असोज २०८०, १८ : ०३

काठमाडौँ - नेपाल उद्योग परिसंघले मुलुकभित्र आर्थिक मन्दिका कारण सर्वसाधारण, सरकार र उद्योगी लगानी तथा खर्च गर्न डराइरहेको उल्लेख गरेको छ ।समसामयिक अर्थतन्त्रका विषयमा आर्थिक पत्रकार समाज (सेजन)ले बिहीवार आयोजना गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले यस्तो बताएका हुन्  ।मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको उनले बताए ।

 विदेशी मुद्रा सञ्चितिमा दबाब पर्दा लिइएको नीति, कोभिड–१९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको उनको तर्क थियो ।आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको भन्दै उनले अर्थतन्त्र चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्ने बताए ।

उनले अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने बताए । ‘अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ’, उनले भने ।अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पूँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उनले बताए ।नेपाल राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्ने उनको भनाइ छ ।

विहीबार, १८ असोज २०८०, १८ : ०३

प्रतिक्रिया