दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको तयारी अन्तिम चरणमा

सोमबार, २२ असोज २०८०, ०९ : ३९

आगामी शुक्रवार देखी राजधानीमा आयोजना हुने “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” को तयारी पुरा भएको छ ।

हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६ गते देखि २९ गते (अक्टोबर १३ तारिख देखि १६ तारिख) सम्म सञ्चालन गर्दैछ ।

एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।

नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायतका प्राकृतिक रेसाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताएका छन्।

हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले स्थानीय उत्पादनको लागि अन्तर्राष्ट्रिय स्तरमा परिचित एवं बिक्री वितरणका लागि अघिल्लो वर्ष आयोजना गरेको एक्स्पोमा ३५० जना विदेशी क्रेताहरूले भ्रमण गरेका थिए । जसबाट पर्यटन विकास एवं नेपाली उत्पादनले विश्व बजारमा पहिचान हुने अवसर प्राप्त गरेको थियो ।

हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले यसपालि आयोजना गर्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय स्टल रहने भएका छन् । 
 

सोमबार, २२ असोज २०८०, ०९ : ३९

प्रतिक्रिया