घाटा खाएरै चिनीको व्यापार,एक जनाले कति सम्म लैजान पाइन्छ ?

विहीबार, ०२ कार्तिक २०८०, ०६ : ३०

केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार मच्चिएको छ । चार्ड पर्व मुखैमा आएको बेला दैनिक प्रयोगमा आउने चिनी अभाव भएपछि उपभोक्ता निराशामा थिए । 

बजारमा भएको अभावलाई मध्यनजर गर्दै नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधवार देखी राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरेको छ । प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो । 

सङ्घका अनुसार वीरगन्जको एभरेस्ट चिनी उद्योगबाट बुधवार बिहान काठमाडौँ आइपुगेको तीन सय बोरा वा १५० क्विन्टल चिनी नक्साल, ज्ञानेश्वर, लाजिम्पाट, महाराजगन्ज चक्रपथ, बुढानीलकण्ठ, सोह्र खुट्टेदेखि बालाजु बाइपाससम्म, ज्याठाचोक, ठैँटी, क्षेत्रपाटी, स्वयम्भू, ताहाचल, भक्तपुर, पाटनलगायतका ठाउँमा पु¥याएर प्रतिउपभोक्ता दुई केजीका दरले बिक्री गरिएको छ । 

सङ्घका अध्यक्ष नरेश खड्कीले बुधवार चिनी बिक्री गरिएका क्षेत्रमा अधिकांशले चिनी प्राप्त गरेको र केही छुटेको भए अर्को दिन पनि दिन सकिने व्यवस्था गरिएको जानकारी दिएका छन्। तत्काल उपभोक्ताको समस्या टार्ने उद्देश्यले सरकारको समन्वयमा शून्य प्रतिशत नाफा लिएर सङ्घले नितान्त सेवाको भावले चिनी बिक्रीको व्यवस्था गरेको उनको भनाइ छ ।

अध्यक्ष खड्कीले भने, “अहिले उपभोक्तालाई चिनी बिक्री गर्दा हाम्रा व्यवसायी साथीलाई नाफा शून्य हो । प्लास्टिकमा दिँदा उल्टै नोक्सान भएको छ तर पनि सेवाका लागि साथीहरू बिहानैदेखि खटिनुभएको छ ।”

अहिले बजारमा चिनी अभाव भएर उपभोक्ताले दुःख पाएकाले उपभोक्तालाई स्वयंसेवकका रूपमा सेवा दिने छुट्टै स्टल राखेर चिनी बिक्रीको व्यवस्था मिलाइएको पनि अध्यक्ष खड्कीले जानकारी दिएका छन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सङ्घको समन्वयमा उद्योगीबाट सिधै उपभोक्तासम्म चिनी बिक्री गर्ने व्यवस्था गरेको जनाइएको छ ।
 

विहीबार, ०२ कार्तिक २०८०, ०६ : ३०

प्रतिक्रिया