यात्रुले सास्ती भोगेको मुग्लिङ-पोखरा सडक खण्ड कालोपत्रे गर्न थालियो

६ महिना अगाडि

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ पोखरा सडक धुलो र हिलोले बेजोग बनेको लामो समय भएको छ । सडक बिस्तार योजना अन्तर्गत तनहुँको डुम्रे–छिर्कने सडक खण्डमा आवतजावत गर्ने यात्रुले दैनिक रूपमा धुवा र धुलोको सामना गरिरहनु परेको छ ।

सोही धुलामय बनेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्ड अब भने कालो पत्रे गर्न थालिएको छ ।  । मुग्लिङ पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरूप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रेको काम सुरु भएको हो ।

तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालो पत्र सुरु भएको मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।  तिहारपछि भने नाला पुलबाटै छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालो पत्र हुनेछ। यसअघि आयोजनाले आँबुखैरेनी खण्डमा कालो पत्र गरेको थियो। आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालो पत्र भइसकेको जनाइएको छ। 

 पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिङ पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । यो खण्डमा हालसम्म ३६ प्रतिशत काम सकिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घर टहरा हटाउने काम चलिरहेको छ ।

 यस खण्डमा छ सय ३१ घर टहरा भत्काइनेछ । यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने सुस्त छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५ र २५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । 

६ महिना अगाडि

प्रतिक्रिया