नेपालमै पहिलो पटक २५ देशका ७० सीईओ भेला हुँदै, कस्ता छन् एजेन्डा ?

५ महिना अगाडि

काठमाडौँ - नेपाल बैंकर्स संघले कात्तिक २३ र २४ गते नेपालमै पहिलो पटक एशियन बैंकर्स कन्फेरेन्स आयोजना गर्दैछ । एशियन बैंकर्स एसोशियसनको सहभागीतामा बैंकर्स कन्फेरेन्स आयोजना गर्न लागिएको हो । यसमा एशियाका २५ देशका ७० भन्दा बढी बैंकका सीईओ तथा अध्यक्षसहित उच्च तहका बैंकर सहभागी हुनेछन् । नेपाल बैंकर्स संघको आग्रहमा एशियन बैंकर्स एसोशियसनले नेपालमै पहिलो पटक यो कन्फेरेन्स आयोजना गर्न लागेको हो । कात्तिक २३ गते बिहानबाट आरम्भ हुने कार्यक्रम दुई दिनको हुनेछ ।

‘रोडम्याप फर रिकभरी एण्ड सस्टेनेबल ग्रोथ’को नारासहित कन्फेरेन्स आयोजना गर्न लागिएको हो । यसमा अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उत्पन्न विश्वव्यापी परिस्थिति, एशियामा त्यसले पारेको प्रभावहरुको खोजी हुनेछ । अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ । एशियाको बैंकिङलाई कसरी अघि लैजाने? संकटको घडीबाट कसरी रिकभरीमा लैजाने र सस्टेनेबल कसरी बनाउने भन्नेबारे वृहद छलफल हुनेछ ।दुई दिनमा चार वटा सेसनको योजना हुने छ । पहिलो सेसनमा ‘ग्लोबल बैंकिङ ट्रेण्ड’बारे छलफल हुनेछ । यसमा विश्वभरको बैंकिङ कसरी अघि बढिरहेको छ ?महंगीको चक्र के हो? रिसेसनपछि बैंकिङ क्षेत्र कसरी अघि बढ्छ भन्ने बिषयमा छलफल हुनेछ । यसमा अन्तराष्ट्रिय वक्ताहरु पनि समावेश हुनेछन् ।

अर्को सेसन भनेको डिजिटल ट्रान्सफरमेशनको हुने छ  । एशियामा डिजिटल ट्रान्सफरमेसन्स कसरी गर्ने ?अहिले के के भैरहेका छन् ? ग्लोबल ट्रेण्डलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुने छ ।अर्को भनेको इन्भायरोमेन्टल सोसियल गभर्नेन्स(ईएजी)का बिषयमा अर्को महत्वपूर्ण सेसन सञ्चालन हुनेछ । नेपालमा विदेशी लगानी ल्याउन, ऋण ल्याउनका लागि पनि यो प्राथमिक आवश्यकताका रुपमा स्थापित भैसकेको छ । यसबारे गहन छलफल गरिने छ ।

चौथो सेसन भनेको सीईओहरुको फोरम हो, जसमा अहिले बैंकिङमा देखिएका जल्दाबल्दा बिषयहरुमा छलफल हुनेछ । अहिले एक सय बर्षपछि बैंकिङ क्षेत्रमा यस्तो खालको बिलकुलै नयाँ परिस्थिति निर्माण भएको छ । कोभिड र रसिया–युक्रेन युद्धपछि बैंकिङ क्षेत्र नै अस्थिर बनिरहेको छ । अर्थतन्त्रका परिदृश्यहरु पनि बदलिईरहेका छन् । डिजिटलाइजेशनले पनि नयाँ नयाँ चुनौतीहरु निम्त्याईरहेको छ । यी बिषयहरुमा गहन छलफल हुनेछ ।त्यस बाहेक नेपालका तर्फबाट ‘रि–इम्याजिनिङ नेपाल्स इकोनोमी’ भनेर अतिरिक्त सेसन तयार पारिउको छ । नेपाल राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा यो छलफल अघि बढ्नेछ ।कन्फेरेन्समा एशियाका २५ देशका ७० भन्दा बढी बैंकका सीईओ र अध्यक्षताहरुसहित बैंकका उच्च पदस्थहरुको सहभागीता सुनिश्चित भैसकेको छ ।कन्फेरेन्स बिहिबार बिहान साढे ८ बजे भएर शुक्रबारसम्म चल्नेछ ।
 

५ महिना अगाडि

प्रतिक्रिया