महानगरले तोक्यो फूलमाला बिक्री गर्न चार स्थान

आइतबार, २६ कार्तिक २०८०, ०७ : ३०

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानलाई बिक्रीस्थल तोकेको छ ।तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको उनले बताए । यी चार स्थानमा फूल बेच्न बस्नेलाई महानगरपालिकाले अवरोध नगर्ने मेयर बालेन शाहले बताएका छन् । ‘नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ’, उनले फूल बिक्री गर्ने स्थान तोक्नुको प्रयोजनबारे फेसबुकमा लेखेका छन् ।

नेपाल फ्लोरिकल्चर एशोसिएनका अध्यक्ष मीनबहादुर तामाङले अघिल्ला वर्षको तुलनामा यस वर्ष करिब दुई सय बिघा बढी जग्गामा फूलखेती वृद्धि भएकाले नेपाली बजारमा स्वदेशी उत्पादनले धान्ने बताए । ‘स्वदेशी फूल र माला मात्रै प्रयोग गर्ने भनिए पनि अहिलेसम्म करिब तीन लाख किलोभन्दा बढी फूल भित्रिएको तथ्याङ्क छ’, उनले भने ।विगतका वर्षमा प्रमुख चाडमा ९० प्रतिशत फूल भारतसँग निर्भर रहने गरेकामा केही वर्षयता नेपाली फूलले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको उनले बताए । भारतीय फूलको माला सुतलीमा उनिएको हुन्छ भने नेपाली फूलको माला सेतो धागोबाट तयार हुने भएकाले सहजै चिन्न सकिने व्यवसायीको भनाइ छ ।

नेपाल चेम्बर्स अफ कमर्श काठमाडौँका अध्यक्ष कृष्णमान श्रेष्ठले फूलैफूलको पर्व तिहारमा उपभोक्तालाई मनासिव मूल्यमा नेपाली उत्पादन पुर्‍याउने र क्रमशः आत्मनिर्भर हुने प्रयासमा सहयोग पुर्‍याउन आह्वान गरे ।‘स्वदेशी ताजा र सुगन्धित फूल र माला चढाएर लक्ष्मी खुसी पार्नुस्, दाजु र भाइलाई पूजा गर्नुस् । सहजरुपमा गुणस्तरीय नेपाली फूलमा किनेर किसानलाई समर्थन र सहयोग गर्नुपर्छ’, उनले भने ।तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेकामा सयपत्रीको ३५ लाख थान तथा बाँकी गोदावरी, मखमलीलगायत फूलको माला बिक्री हुने गरेको छ । तिहारमा मात्रै करिब ३५ करोड रुपैयाँको फूलको कारोबार हुने अनुमान छ । रासस

आइतबार, २६ कार्तिक २०८०, ०७ : ३०

प्रतिक्रिया