विश्वकप छनोट खेल्न युएई प्रस्थान गर्‍यो राष्ट्रिय फुटबल टोली

आइतबार, २६ कार्तिक २०८०, १६ : ०७

काठमाडौँ । राष्ट्रिय फुटबल टोली सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा सहभागी हुन आइतबार संयुक्त अरब इमिरेट्स (युएई)प्रस्थान गरेको छ ।

राष्ट्रिय टोलीका दुई प्रभावशाली खेलाडी रोहित चन्द र मनिष डाँगी भने सिधै दुबईमा टोलीमा सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।  नेपाली टोलीले कात्तिक ३० गते युएईसँग दुबईमा ‘अवे’ खेल खेल्दै छ । त्यसपछि नेपालले घरेलु मैदानमा युएईसँग दोस्रो लेग खेल खेल्नेछ । डिफेन्डर योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र स्ट्राइकर राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । 

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ भने युएई भ्रमणमा सहभागी छैनन्। युएई प्रस्थान गरेको टोलीमा गोलरक्षकको भूमिकामा किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल रहेका छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ छन् । मिडफिल्डरमा कृतिशरत्न छुन्जु, मनिष डाँगी, लाकेन लिम्बु, उत्सव राई, सेहाङ आङ्देम्बे र निशान हमाल रहेका छन् । 

यसैगरी स्ट्राइकरमा अन्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, संजीव विष्ट र राजेश परियार रहेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २६ सदस्यीय टोलीले लामो समय प्रतियोगिताका लागि तयारी गरेको थियो । 

दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स ९युएई०सँग खेल्न लागेको हो । त्यसपछि नेपालले युएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ ।

नेपालले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ । यमनविरुद्धको पहिलो लेग खेल मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलिने कार्यक्रम छ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ ।   

विश्व फुटबल महासङ्घ(फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा यमन निकै माथि छ। वरीयतामा यमन १५६ औँ र नेपाल १७३ औँ स्थानमा छन् । नेपालको समूहमा यमनका अतिरिक्त संयुक्त अरब इमिरेट्स (युएई) र बहराइन पनि रहेका छन् । 

विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपाल दोस्रो चरणको पहिलो खेल युएईसँग खेल्न लागेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक एनेस अहिलेसम्म आफ्ना कुनै पनि खेलाडी घाइते नहुनु सुखद पक्ष रहेको बताउँछन् ।

आइतबार, २६ कार्तिक २०८०, १६ : ०७

प्रतिक्रिया