फूल माला व्यापारी निराशामा: बिक्री हुने भन्दा बढी ओईल्याउने  र कुहिने बढी

सोमबार, २७ कार्तिक २०८०, ०७ : ३०

पछिल्लो समय बजारमा  प्लास्टिक फूल मालाको प्रयोग बढेको र भारतीय फूलको आयात बन्द नहुँदा स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन छोडेका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रले भारतीय सयपत्री फूलमाला आयात गर्न कात्तिक १५ गते ९ वटा अनुमति पत्र जारी गरेको थियो । 

उक्त पत्र जारी भएसँगै प्रति अनुमति पत्र बराबर ५० हजार किलोका माला बजार मूल्यअनुसार १२ करोड ५० लाख रुपैयाँमा नेपालमा फूलको आयात हुन थालेको नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङ बताउँछन्। स्वदेशी उत्पादनलाई बेवास्ता गर्दै सरकारले ४ लाख ५० हजार किलो सयपत्रीको माला आयात गर्न अनुमति दिएको उनको भनाइ छ।

सयपत्री फूल एक किलोमा ५ वटा माला हुने र ४ लाख ५० हजार किलोमा झन्डै २५ लाख माला पुग्ने तामाङ बताउँछन्। जस अनुसार सरकारले आवश्यकताभन्दा बढी माला आयात गर्न अनुमति लिइएको उनको भनाइ छ। ‘स्वदेशी किसानले तिहारमा ३५ लाखको सङ्ख्यामा सयपत्री फूलको माला बजारमा ल्याउने तयारी गरेका बेला भारतबाट आयात हुने मालाले स्वदेशी मालाको बजार गुम्ने जोखिम बढेको छ,’ उनले भने, ‘भारतबाट माला आयात भए नेपाली किसान पुष्प खेती र व्यवसायबाट पलायन हुने खतरा उत्पन्न हुन्छ।’

तिहारमा ४० लाख गोटा सयपत्री फूलको मालाको माग रहेको र ८० प्रतिशतका दरले ३५ लाख हाराहारीमा नेपाली उत्पादनले बजार धान्ने देखिएको थियो। सरकारले अपुग हुने ५ लाख गोटा मात्रै आयात गर्न अनुमति दिनुपर्नेमा २५ लाख गोटाको लागि आयात अनुमति दिँदा स्वदेशी उत्पादन ३५ लाख मालाले बजार नपाउने अवस्था सिर्जना भएको उनी बताउँछन्।

सरकारले प्लास्टिक फूल माला प्रतिबन्ध लगाउने भनेको भए पनि प्रभावकारी निगरानी नहुँदा बजारमा सस्तो मूल्यमा पाएको प्लास्टिक माला र भारतीय फूलको बिगबिगीको कारण स्थानीय स्तरमा उत्पादित फूल बिक्री हुन नसकेको व्यवसायीहरूको भनाई छ । 

फूलको राम्रो बिक्री हुने समय भनेको तिहारको दोस्रो दिन अर्थात् लक्ष्मीपूजाको दिन हो तर त्यही दिन आधा भन्दा बढी फूल ओइलाएर गएको व्यवसायीको भनाई छ । व्यवसायीले बाटोमा हिडीरहेका  प्रत्येक यात्रुलाई फूल देखाइरहेका छन् , किन्न आग्रह गरिरहेका छन् तर आठ सयमा किनेको फूल चार सयमा दिँदा समेत आशा गरेअनुसार व्यापार हुन नसकेको व्यवसायी मिथिला श्रेष्ठको भनाई छ । 

दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा फूलको कारोबार बढ्नुपर्ने तर यस्तो अवस्थामा समेत व्यापारमा देखिएको नोक्सानीले आफूहरू निराश भएको अर्को बिक्रेता चूलीमाया मगरको गुनासो छ ।
 

सोमबार, २७ कार्तिक २०८०, ०७ : ३०

प्रतिक्रिया