बजारमा तिहारको चहलपहल सुरु भइसकेको छ । तिहारमा भाइटिका लगाउँदा दाजु भाइलाई उपहार दिने प्रचलन नेपाली समाजमा निकै पुरानो छ।
तिहारमा दाजुभाइलाई तेल लगाएर कपाल कोरिदिएपछि टोपी लाइदिने चलन रही आएको छ । त्यसपछिका दिनमा दाजुभाइलाई तौलिया दिने गरिन्थ्यो तर समय बदलिएसँगै टोपीका साथ साथै तिहारमा अन्य उपहार दिनेहरू पनि हुन्छन् ।
तिहारका लागि नेपालीहरूले आफ्नो आर्थिक अवस्था र बजेट अनुसार हाल उपहार खरिद गरिरहेका छन् । तिहार नजिकिएकाले बजारमा पनि तिहारको रौनकता देखिएको छ । तिहारका लागि के उपहार दिने भन्ने दुबिधा प्रायलाई हुन्छ । आफ्ना दाजुभाइ तथा दिदीबहिनीलाई उपहारमा के दिने भन्ने प्रश्न तेर्सिएको हुनसक्छ ।
दिदीबहिनीहरूले तिहारमा टीका मात्र लाउँदैनन् । आफ्नो दक्षता अनुसारको विभिन्न थरिका फलफूल र मिठाई पनि दिने गर्दछन् । खानाका मिष्टान्न परिकारका साथै टीका लगाएपछि भाइ मसला पनि दिने गरिन्छ । भाइ टीकामा ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोग गर्दै दिदीबहिनी र दाजुभाइको सुख, समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गरिने चलन छ ।
यी बाहेक तिहारका लागि उपयुक्त उपहारहरू यी हुन सक्छन् :
कपडा: भाइटिका गर्दा दिइने सर्वाधिक चलनचल्तीको उपहार भनेको कपडा हो । दिदीबहिनीलाई सारी, कुर्ता, स्विटर, ज्याकेट, टप्स, टिसर्ट प्यान्ट, स्याण्डललगायत पनि मन पर्ने उपहार हुन सक्छ । यस्तै, दाजुभाइलाई पनि सर्ट, प्यान्ट, दौरा, सुरुवाल, जुत्ता आदि पनि दिन सकिन्छ ।
ब्याग: ब्याग हरेक दिनका लागि आवश्यक रहने सामाग्रीमा पर्छ । ब्यागका सौखिनको पनि सङ्ख्या बाक्लै छ । विशेष गरी, महिलाहरूमा ह्याण्ड ब्यागको चाहना बेग्लै हुन्छ। त्यसैले, दिदी बहिनीदेखि दाजुभाइका लागि रोजाइ र क्षमता अनुसारको ब्याग पनि भाइटिकाका लागि राम्रो उपहार हुन सक्छ।
ग्याजेट्स : पछिल्लो समय बच्चा बच्चाको हातमा मोबाइल, ट्याप, ल्यापटप देख्न सकिन्छ । मोबाइल त हर कोहीको लागि अपरिहार्य नै बनिसकेको छ । त्यसैले, ग्याजेट्स पनि भाइटिकाका लागि अनुकूल उपहार मानिन्छ । तपाईँले आफ्ना दाजुभाइ वा दिदी बहिनीलाई मोबाइल, इयरपोड, ट्याप, ल्यापटप वा अन्य कुनै इलेकट्रोनिक सामाग्री पनि दिन सक्नुहुन्छ ।
घडी : दाजुभाइ तथा दिदी बहिनीका लागि भाइ टीकामा दिने उपहारमा घडी पनि पर्दछ । खास गरी, दाजुभाइलाई दिदीबहिनीले भाइटिका लगाउनासाथ घडी लगाइदिने गरेका छन् । बजारमा पाइने ठिकै खालका घडीदेखि विभिन्न ब्रान्ड र डिजाइनका घडीहरू रोज्न सकिन्छ ।
वालेट र बेल्ट : दाइ र भाइहरूका लागि सजिलो र राम्रो उपहारमा वालेट अथवा पर्स र बेल्ट पनि पर्दछ । आकर्षक मात्र नभएर आवश्यक पनि भएकाले वालेट र पर्स दिन सकिनेछ । महिला तथा युवतीहरूलाई पनि यस्तो उपहार सम्झनाका रूपमा दिन सकिनेछ ।
चकलेट : गुलियो सबैलाई मन पर्छ । बालबालिकादेखि वृद्ध वृद्धासम्मलाई चकलेट मन पर्ने गरेको पाइन्छ । त्यसैले, भाइटिकामा अन्य कुनै उपहार नभएता पनि चकलेट उत्कृष्ट छनोट हुन सक्छ ।
पर्फ्यूम : यसै गरी, दाजु भाइ र दिदी बहिनीले भाइटिकामा एक अर्कालाई पर्फ्यूम पनि दिन सक्छन् । सुगन्ध मन नपर्ने सायदै कोहि होला । त्यसैले, आफ्नाको छनोटको ख्याल गर्दै पर्फ्यूम किन्दा राम्रो हुन्छ । छनोटका साथै आफ्नो पकेटको अवस्थालाई पनि ध्यानमा राख्नु जरुरी हुन्छ ।
त्यस्तै अनलाइन स्टोरहरूमा कोटमा लगाउने ब्रुच, टाई पिन, ढाका टोपी, ढाकाको टाई र मास्कको सेट, गाँजाको पर्स, र ढाकाको बक्स, लोक्ता कागजको बाकस, , लक्ष्मीको मूर्ति, केमिकल रति साबुन र लिप बाल्म, ढाकाको पर्स, सुगन्ध दिने माटोको भाँडो, बोटबिरुवा, सुगन्धित क्याण्डल, हस्तकलायुक्त टोकरी, वाइन आदि पाईन्छ ।
प्रतिक्रिया