१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट खेलाडीलाई मासिक ५ हजार दिइने

मंगलबार, ०५ मंसिर २०८०, ०८ : ५३

 काठमाडौँ ।  एक वर्षपछि कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूलाई मार्सिक रूपमा ५ हजार रुपैयाँ दिइने भएको छ।

 प्रदेश खेलकुद विकास परिषद्को १५ औँ बोर्ड बैठकले प्रतियोगिताको लागि प्रदेशबाट छनोट भएका खेलाडीहरूलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले प्रतियोगितामा कर्णालीले दुई अङ्कको लक्ष्य अर्थात् ‘९९’ को टार्गेट मिट गर्ने गरी तयारी थालेको बताए।

बाग्मती प्रदेशले फागुन १५ बाट आयोजना गर्ने अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णालीबाट छनोट भएका खेलाडीहरूलाई नै १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा राख्ने गरी परिषद्ले तयारी थालेको हो । 

मासिक ५ हजार दिने निर्णयले खेलाडीहरूमा उत्साह थपिएको छ । राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गरेर पनि खेल मैदानको अभाव झेलिरहेको कर्णालीमा अब एक स्थानीय तह एक क्रिकेट तालिम सेन्टरको स्थापना हुने भएको छ । 

परिषद्को १५ औँ बोर्ड बैठकले क्रिकेट खेलको दीर्घकालीन योजनाको रूपमा स्थानीय तहको साझेदारीमा एक स्थानीय तह एक क्रिकेट तालिम सेन्टरको स्थापना गर्ने दीर्घकालीन योजना पास गरेको छ । प्रदेश राजधानी शहर वीरेन्द्रनगरमा भने कालिन्चोक स्थित क्रिकेट मैदान र निर्माणाधीन प्रदेश रङ्गशालाको उत्तरपट्टिको भागमा क्रिकेट रङ्गशाला निर्माण थालेको छ । 
 

मंगलबार, ०५ मंसिर २०८०, ०८ : ५३

प्रतिक्रिया