माओवादी केन्द्रले ल्यायो नयाँ वेबसाइट सञ्चालनमा

सोमबार, ११ मंसिर २०८०, १७ : २६

काठमाडौँ - नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक वेबसाइट लन्च गरेको छ । लामो समयको गृहकार्यपछि माओवादीको प्रचार विभागले सोमबार वेबसाइट लन्च गरेको हो । उक्त वेबसाइटलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उद्घाटन गरेपश्चात् सञ्चालनमा आएको हो ।   

 लगइन गरी वेबसाइट भिजिट गर्न सकिन्छ । वेबसाइट न्युज पोर्टलको शैलीमा बनाइएको निर्माण टिमका प्राविधिकहरू बताएका छन् । यसको डिजाइन पाठक कहाँ बसेर हेर्छन् त्यहीँको समाचार आउनेदेखि नेपाली टेक्स पढेर सुनाइ दिने बनाइएको छ । 

 वेबसाइट हतारमा बनाइएकाले बिस्तारै अपग्रेड गर्दै लैजाने आइसिटी फोरमका संयोजक गोविन्द आचार्यले बताएका छन् । साइट म्याटरलाई भन्दा गतिविधिलाई मुख्य स्थान दिएको छ । सुरुवातीमा पदाधिकारीहरूको जानकारी राखिएको छ । बिस्तारै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, विभाग, भातृ सङ्गठन, प्रदेश, स्थानीय कमिटी सबै सङ्गठनात्मक संरचना तयार गर्ने आचार्यले बताए ।

उक्त वेबसाइट सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सुकुम्वासी समस्या समाधानका लागि क्याबिनेटले ऐन संशोधन गर्ने निर्णय गरेको बताए । 

 
‘हेर्नुहोला सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरेपनि रुख काट्न नपाइने छ’, उनले एउटा विद्यालयको घटना सुनाउँदै भने, ‘एउटा विद्यालयमा रुख ढलेर एक विद्यार्थीको मृत्यु भएछ । त्यो रुख वनमा परेकाले काट्न पाएका रहेनछन् । कस्ता खालका कानुन रहेछ । विकास, जनतनाभन्दा पनि अन्य कुनै कुरालाई महत्त्व दिने छन्, त्यसलाई संशोधन गर्ने भनेर हिजो निर्णय गरेका छौँ ।’

 ऐन संशोधनपछि विकास निर्माण र लालपुर्जा वितरण गर्ने काम खुल्ने उनले जिकिर गरेका छन् ।

सोमबार, ११ मंसिर २०८०, १७ : २६

प्रतिक्रिया