काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले एकीकृत कारोबार सञ्चालन सुरु गरेको छ। हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरे पश्चात् कायम भएको हिमालयन क्यापिटलको यो नै प्रारम्भिक कारोबार हो ।
शुक्रवार भएको एक समारोहको बिचमा हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुनिल प्रसाद गोर्खाली र साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोला बहादुर विष्टले दीप प्रज्वलन गरी एकीकृत कारोबार प्रारम्भको घोषणा गरेका थिए ।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष तथा हिमालयन बैङ्क लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल प्रसाद गोर्खालीले मर्चेन्ट बैंकिंग व्यवसायमा छोटो समयमा पनि नवीनतम सेवा प्रवाह गर्दै आफ्ना छुट्टै पहिचान स्थापित गरेको बताएका छन् ।
उनले हिमालयन क्यापिटल लिमिटेड र मर्चेन्ट बैंकिंग व्यवसायका आधुनिकीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सिभिल क्यापिटल मार्केट लिमिटेडको सम्मिश्रणबाट सकारात्मक प्रभाव सिर्जना भई ग्राहकहरूलाई प्रदान गरिने सेवा तथा सुविधाहरू अझ सबल हुने बताए ।
संस्थाले मुलत प्रविधिको माध्यमबाट आफ्नो सेवाहरूको विस्तार गर्ने र नवीनतम प्रकृतिका विशिष्ट कृत लगानी कोष, खुल्ला मुखी सामूहिक लगानी कोष योजना, व्यवस्थित लगानी योजना जस्ता सेवाहरू निकट भविष्यमा प्रदान गर्ने लक्ष्य राखेको गोर्खालीले जानकारी दिएका छन्।
हिमालयन क्यापिटल लिमिटेडले कम्पनी रजिस्ट्रारको कार्यालय बाट १२ मङ्सिर, २०८० मा एकीकृत कारोबार सञ्चालन अनुमति प्राप्त गरेको थियो ।
प्रतिक्रिया