काठमाडौं- आजियाटाले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरे पनि अझै पाँच वर्ष सम्म अर्थात् सन् २०२० सम्म एनसेलले कमाउने नाफामा हक जमाउने भएको छ ।
आज अर्को एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेलले शेयर बिक्रीको समयमा भएको सहमति अनुसार आजियाटाले बेस पेमेन्टबाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त गर्ने भएको हो ।
‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स ९सेन्ट किट्समा रहको कम्पनी० मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरू मध्येबाट पहिलो भई छानिएको हो,’ स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका नयाँ शेयरधनी सतिशलाल आचार्यले भने, ‘शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र बिक्रेतामार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ ।’
सो शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ । यसबाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोहोर्याउने विज्ञप्तिमा उल्लेख छ ।
नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर सतिशलाल आचार्यले किनेका हुन् । आचार्य सञ्चालक रहेको स्पेक्ट्रलाइट यूकेले सेन्ट्स किट्स एण्ड नेभीसमा रहेको आजियाटा यूकेको रेनोल्ड्स होल्डिङ लिमिटेडको १०० प्रतिशत स्वामित्व खरिद गरेसँगै एनसेलको ८० प्रतिशत शेयर आचार्य सञ्चालक रहेको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडको नाममा गएको छ ।
त्यसअघि एनसेलको ८० प्रतिशत शेयर स्वामित्व रेनोल्ड्स होल्डिङ लिमिटेडसँग थियो । स्पेक्ट्रलाइट यूकेले रेनोल्ड्स होल्डिङको १०० प्रतिशत शेयर स्वामित्व नै किनेर एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको हो । स्पेक्ट्रलाइट यूकेका सञ्चालक आचार्य सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् ।
एनसेलको सो परिमाणको शेयर खरिद गरेसँगै उनले एनसेललाई अब आविष्कार र लगानीसँगै परिष्कृत सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । एनसेलले हाल प्रदान गर्दै आएको सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन स्पेक्ट्रलाइट यूके प्रतिबद्ध रहेको उनको भनाइ छ ।
‘एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरू हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरू सम्पुर्ण रूपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको स्पष्ट पारेको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिने प्रतिबद्धता पनि उसले विज्ञप्तिमार्फत जनाएको छ ।
‘हामी आवश्यक सहमतिहरूका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेका छौं । एनसेलमा केही परिवर्तनहरू भइरहेको बेला हाम्रा ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चित गराउन चाहन्छौं । एक जिम्मेवार कम्पनीको रूपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न हामी प्रतिबद्घ छौं,’ विज्ञप्तिमा भनिएको छ ।
लाखौं नेपालीहरूको जीवनलाई समृद्घ बनाउने उद्देश्य अनुरूप परिस्कृत डिजिटल सेवाहरूमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रूपमा अघि बढ्न एनसेल तयार रहेको उल्लेख गर्दै मोवाइल कनेक्टिभीटी सेवामा मात्र सीमित नभई विभिन्न सेवाहरू प्रदान गर्न नेटवर्कको पूर्वाधार विकासलाई निरन्तरता दिने पनि कम्पनीले जनाएको छ ।
तर, सरकारलाई थाहै नदिई शेयर खरिदबिक्री गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ भने सरकारले छानबिन गर्न समिति नै बनाइसकेको छ । आज बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माका अनुसार समितिका सस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, हृदयेशकुमार शाक्य र सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको कार्यवधि दिइएको छ ।
यस्तै संसदीय समितिहरूले पनि यसबारे अध्ययन थालिसकेका छन् । शेयर खरिदबिक्री प्रकरणमा प्रमुख राजनीतिक दलका नेता र सरकारकै संलग्नता रहेको भन्दै सर्वसाधारणको तहबाटै यसबारे चर्को आलोचना र विरोध भइरहेको छ । यो खरिदबिक्रीलाई सरकारले रोक्नुपर्ने आम भनाइ छ ।
प्रतिक्रिया