के गर्दै छ युवा स्वरोजगार कोष ?

४ महिना अगाडि

काठमाडौँ - देशमा बढ्दै गएको बेरोजगार, वैदेशिक रोजगारको खोजीमा बिदेशिएका  युवा, आयातमुखी अर्थतन्त्र आदिलाई सम्बोधन गर्दै नेपाल सरकारले स्थानीय स्रोतसाधनको समुचित प्रयोग हुने गरी देशमा उपलब्ध जनशक्तिद्वारा  स्थानीय स्तरमा सुलभ र सुरक्षित व्यावसायिक कर्जा उपलब्ध गराई उद्यमशीलताको विकासमार्फत देशभित्र स्वरोजगारका अवसरहरू सिर्जना गर्ने उद्देश्यको साथ स्थापना भएको हो  ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष ।

माथि नाम उल्लेखित कोष डा.बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा स्थापना गरिएको सरकारी संस्था हो । युवा तथा खेलकुद मन्त्रालयबाट परिचालित उक्त कोष देशमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न र स्वदेशमै सम्भावनाको खोजी गर्ने लक्ष्यको साथ स्थापना गरिएको थियो । 

 कोषले स्थानीय श्रोत साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगार मूलक व्यावसायिक परियोजना सञ्चालन गर्नका लागि स्थानीय स्तरमा सुलभ र सुरक्षित व्यावसायिक कर्जा उपलब्ध गराई उद्यमशीलताको विकास मार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । 

मुलुकमा उपलब्ध जनशक्तिलाई आर्थिक रूपमा सक्षम, सामाजिक रूपमा जिम्मेवार, सांस्कृतिक रूपमा जागरूक एवं सृजनशील बनाई स्वरोजगार कार्यक्रमहरूमा उनीहरूको सहज पहुँच, प्रयोग र श्रोत परिचालन गर्न सक्ने अवस्था सिर्जना गरी अपनत्व र स्वामित्वको अनुभूति गराई स्वरोजगार/रोजगार सिर्जनाका कार्यक्रमलाई प्रभावकारी बनाउन युवा स्वरोजगार कोषको स्थापना गरिएको कोषको अधिकृत जनक पाण्डेको भनाई छ । 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सस्तो ब्याजदरमा रिण उपलब्ध गराई अप्रत्यक्ष रूपमा बेरोजगार युवा वर्गलाई आफ्नै व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्दछ । उक्त कोषले प्रत्यक्ष रूपमा व्यक्तिसँग नभएर विभिन्न संघसंस्थासँग आबद्ध भएर आफ्नो कार्य योजना परिचालन गर्छ । सरकारद्वारा विनियोजित बजेट कोषले विभिन्न सहकारी, बैङ्कको मार्फत बेरोजगार समुदायमा पुर्याउछ, जसको सहायताले व्यक्ति स्वरोजगार बन्दछ। 

कसरी गर्छ कोषले  लगानी ?

संस्थाका अधिकृत जनक पाण्डेका अनुसार कोषले गोरखापत्रमा लगानीको लागी आवेदन खुलाउँछ, जसमा आवश्यक मापदण्ड पुर्‍याउने सहकारी, बैंकवित्तहरुले आवेदन दिन सक्छन् ।उदाहरणको लागी आवेदन दिएका सहकारी, बैंकवित्तले आवश्यक मापदण्ड पुरा गरेको छ या छैन, संस्थाको सत्य तथ्य बारे बुझ्न कोषले अवलोकन टोली उक्त सहकारी वा बैंकवित्त अवस्थित ठाउँमा पठाउँछ । उक्त अवलोकन टोलीले गरेको अनुगमन पश्चात् सहकारी, कोषको लगानी उपयोग गर्न योग्य छ या छैन निर्धारण गरिन्छ ।

 कोषले एउटा सहकारी वा बैंकवित्तमा २० लाख देखि १ करोडसम्म लगानी गर्ने उहाँले बताउनु भयो । पहिलो पटकमै सहकारीलाई ठुलो रकम प्रदान नगरिने उहाँले जनाउनु भएको छ । उहाँले भन्नुभयो , ''अनुगमन टोलीले सहकारी वा बैङ्कको अनुगमन गरे पश्चात् टोलीले यो यो कारणले यो सहकारी यति रकम प्रयोग गर्न योग्य छ या यो कारणले कोषको रकम उपयोग गर्न योग्य छैन भनी कोषलाई रिपोट पेस गर्छ ।''

 अनुगमन टोलीद्वारा सहकारी वा बैंकवित्तले खपत गर्न योग्य तोकिएको रकम कोषले उक्त संस्थालाई ४ प्रतिशत ब्याजदरमा उपलब्ध गराउँछ ।कोषद्वारा प्राप्त रकम सहकारी वा र्बैंकले आफ्नो संस्थामा आबद्ध व्यक्तिलाई २ लाख रुपैयाँको दरले विभिन्न शीर्षकमा उपलब्ध गराउँछ । उक्त रकमको मदतले व्यक्तिलाई विभिन्न व्यवसाय सञ्चालनमा सहयोग पुर्यउछ जसको फल स्वरूप व्यक्ति स्वरोजगार बन्ने गर्दछ । 

यति मात्र नभएर उक्त संस्थाले अभिमुखीकरण तालिम समेत प्रदान गर्दछ । कोषको रकम चलाउने प्रति व्यक्तिले उक्त रकम ८ प्रतिशतको ब्याजदरसहित ४२ महिना भित्र महिना महिनामा किस्ता र व्याज बुझाउँनु पर्छ । महिना महिनामा व्याजसहित किस्ता बुझाउने व्यक्तिलाई प्रोत्साहन स्वरूप श्रणीले तिरेको ६० प्रतिशत ब्याज खुद कोषले श्रणीको खातामा पठाउँछ । समग्रमा कोषले बेरोजगार युवा वर्गलाई स्वरोजगार बनाउन ८ प्रतिशतमा रकम उपलब्ध गराएता पनि समयमै किस्ता हाल्दा व्यक्तिले २ प्रतिशतको श्रण प्राप्त गर्ने उहाँले बताउनु भयो ।

स्थापना भएको समय देखी उक्त कोषले प्रति व्यक्ति २ लाख रकम उपलब्ध गराइरहेको छ । २०६५सालमा जति महत्त्व २ लाख रुपैयाँको थियो त्यति अहिलेको अवस्थामा नरहेको जान्दाजान्दै पनि आर्थिक मन्दीको कारण कोषले उपलब्ध गराउने रकम बढाउन नसकिएको उहाँले बताउनु भयो ।

 उहाँ भन्नुहुन्छ , पैसा बढाउने त परै जाओस् , आर्थिक सङ्कटको कारणले माग अनुसारको रकम समेत जनतामा पुर्याउन सकेका छैनौँ । युवा तथा साना किसान कोषको कार्य परियोजना परिमार्जन गर्न आवश्यक रहेको तर स्थानीय तहबाट पहल गरिएता पनि सरकारी निकायले गम्भीर रूपमा नलिएको उहाँको आरोप छ । - शोभा धिताल

४ महिना अगाडि

प्रतिक्रिया