मुलुकमै सबैभन्दा ठुलो आयोजना स्टार्टअप फेष्ट २०२३ काठमाडौंमा आयोजना हुँदै

आइतबार, २४ मंसिर २०८०, ०८ : १५

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा उद्यमी मञ्चले आगामी पुस ७ गते काठमाडौंमा स्टार्टअप फेष्ट २०२३ को  आयोजना गर्ने भएको छ । 

यो आयोजना स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने कार्यक्रम मध्यमा मुलुकमै सबैभन्दा ठूलो आयोजना भएको सीएनआईको भनाई छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोग र नबिल बैंकसँगको सहकार्यमा सीएनआई वाईइएफ स्टार्टअप फेष्ट २०२३ को उद्देश्य मुलुकमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने रहेको छ। 

साथै, नवीन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सघाउने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने उद्देश्य रहेको सीएनआईले बताँएको छ। स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको छ। नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा स्थापित गराउन लगानी जुटाएर प्रोत्साहन गरिने आयोजकले जनाएका छन्। 

कार्यक्रममा नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुबीच छलफल गरिने छ। स्टार्टअप प्रवर्धनमा विदेशमा भइरहेका सफल अभ्यास तथा उपलब्धीहरुका विषयमा पनि विभिन्न सत्रमा छलफल हुनेछन् । सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा २ सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । 

त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रस्तुतीकरणको अवसर दिइने । प्रस्तुतिका आधारमा लगानीकर्ता कम्पनीहरुले लगानीको प्रतिबद्धता जनाइ आसयपत्रमा हस्ताक्षर गर्नेछन् ।

आइतबार, २४ मंसिर २०८०, ०८ : १५

प्रतिक्रिया