काठमाडौं–नेपाली बजारमा प्याजको अभाव देखिएको बेला नेपाली आयातकर्ताहरूले चीनबाट प्याज ल्याउन ‘अर्डर दिन थालेको’ व्यवसायीहरूले बताएका छन्।
यद्यपि उनीहरूले लागत कम पर्ने भएकाले भारतबाटै प्याज ल्याउने वातावरण बनाउन कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गरेका छन्।
बीबीसी न्यूज नेपालीले कुराकानी गरेका एक मन्त्रीले चाहिँ भारतसँग तत्काल त्यस्तो कूटनीतिक पहल हुने सम्भावना कमै रहेको सङ्केत गरे।
भारतले सन् २०२४ को मार्च अन्तिम सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ।
त्यसले गर्दा नेपाली बजारमा प्याजको चरम अभाव भएको व्यवसायीहरू बताउँछन्।
प्याजको भाउ फेरि बढ्यो, नेपालमा बारम्बार किन मूल्य बढिरहन्छ ?
बजारमा सहजै उपलब्ध नभएका कारण देखाउँदै राजधानी काठमाण्डूसहित देशका विभिन्न भागमा व्यापारीहरूले प्याजको भाउ बढाएका छन्।
सरकारले आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेपछि केही दिन नेपालमा दुवै वस्तुको अभाव देखिनुका साथै मूल्यवृद्धि पनि भएको थियो।
तर सरकारले स्वदेशी आलु र प्याजमा भ्याट नलाग्ने स्पष्ट पारेपछि अहिले आलुको आपूर्ति सहज हुँदै गएको व्यापारी र अधिकारीहरूले बताए।
चीनबाट ल्याउने प्रयास
भारतबाट प्याज ल्याउन नसकिने अवस्था भएपछि चीनबाट आयात गर्ने पहल सुरु गरिएको नेपाली व्यवसायीले बताएका छन्।
नेपाल कृषि उपज, आलु, प्याज आयात(निर्यात तथा थोक विक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले भने, “केही लसुन तथा स्याउ ल्याउने व्यवसायीहरूले उता (चीन)बाट लोड गरेका छन् भन्ने खबर आएको छ।”
“अहिलेसम्म नेपालमा चाहिँ आइपुगेको छैन। हामी पनि ल्याउने कोसिस गरिरहेका छौँ।”
“हामीले वाणिज्य विभागलाई पनि त्यसबारे पहल गर्न आग्रह गरेका छौँ। उहाँहरूले आवश्यक पहल गर्ने आश्वासन दिनु भएको छ,” गजुरेलले भने।
‘आलुको अभाव छैन’
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक महादेवप्रसाद पौडेलले स्वदेशी आलु तथा प्याजमा भ्याट नलाग्ने भनेर कर प्रशासनले स्पष्ट गरेसँगै आलुको अभाव नभएको बताए।
“पहिले व्यवसायीहरूले भ्याटको विरोध गर्दा आपूर्तिमा केही समस्या देखिएको थियो तर त्यो समस्या विगत दुई दिनदेखि देखिएको छैन,” सोमवार उनले भने।
चालु आर्थिक वर्षको बजेटमार्फत आलु र प्याजमा भ्याट लगाउने नीति लिएको थियो।
आलु र प्याज
त्यसको सुरुमै विरोध गरेका व्यवसायीहरूले आलु र प्याजको आयात रोक्नुका साथै स्वदेशी उत्पादन पनि नकिनेपछि बजारमा अभाव देखिएको थियो।
गत शुक्रवार आन्तरिक राजस्व विभागले स्वदेशी प्याज तथा आलुमा भ्याट नलाग्ने स्पष्ट पारेको थियो।
विभागले भ्याट नलाग्ने स्पष्ट पारेसँगै व्यापारीहरूले कारोबार थालेकाले अहिले आलुको आपूर्ति सहज भएको पौडेलले बताए।
आलु र प्याजको माग
नेपालमा रहेको आलुको मागमध्ये ६० देखि ७० प्रतिशतसम्म स्वदेशी उत्पादनले धान्ने महासचिव गजुरेलले बताए।
उनका अनुसार प्याजका लागि भने नेपाल लगभग भारतमै निर्भर हुने गरेको छ। भारतमा कडाइ गरिएका बेलामा कहिलेकाहीँ चिनियाँ प्याज आउने गरेको छ।
यद्यपि चिनियाँ प्याज ठूलो हुने तथा त्यसको स्वाद नेपालीहरूले खासै मन नपराउने व्यवसायीहरू बताउँछन्।
गजुरेलका भनाइमा नेपालमा प्याजको खपत बिहे र अरू ठूला पर्वका बेलामा धेरै हुन्छ।
उनका अनुसार काठमाण्डू उपत्यकाभित्र मात्र दैनिक करिब ५० देखि ७० टन प्याज र १०० टनको हाराहारीमा आलु बिक्री हुन्छ।
बिबिसीबाट
प्रतिक्रिया