काठमाडौँ - आज अङ्ग्रेजी नयाँ वर्ष २०२४ को प्रारम्भ भएको छ । २०२३ को अन्तिममा दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसै गरी, तेजाबी सुनको भाउ तोलाको १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यले सन् २०२३ मा नयाँ रेकर्ड कायम गरेर बिदा भएको छ । डिसेम्बर २८ मा ९पुस १२ गते० सुनको मूल्य हालसम्मकै उच्च १ लाख २२ हजार रुपैयाँ कायम भएको थियो। यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख २१ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।
यो मूल्य नै हालसम्मकै उच्च मूल्य हो। सन् २०२३ को सुरुवातबाटै विश्वभर आर्थिक मन्दी देखिन थालेको अवस्था थियो । विश्वगतमा हुने गरेका यस्ता घटनाका कारणपनी विश्वभरका लगानीकर्ता सुन सञ्चय गर्नतर्फ लागे जसले गर्दा सुनको माग ह्वात्तै बढ्न जाँदा मूल्य बढेको विश्लेषकहरूको आकलन छ । त्यसै गरी, विभिन्न मुलुकमा जारी द्वन्द्वका कारण पनि प्रभाव पारेको विश्लेषकहरूले बताएका छन् ।
पछिल्लो समय अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएसँगै सुनको मूल्यमा वृद्धि देखिएको हो । फलस्वरुपः लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुन थाले । सुनलाई विश्वभर नै लगानीको सबैभन्दा सुरक्षित क्षेत्रमध्येको एक मानिन्छ । विश्लेषकहरूले अङ्ग्रेजी नयाँ वर्षमा सुनको मूल्यले अर्को रेकर्ड कायम गर्न सक्ने अनुमान समेत गरेका छन् ।
त्यसो त लामो समयदेखि सुनको मूल्य चुलिँदै आएको छ । विश्वमा कुनै तनाव भयो भने आम लगानीकर्ता सुरक्षाको खोजीमा सुनतर्फ आकर्षित हुन थाल्छन् । यसबाट एकाएक माग बढ्न गई मूल्यसमेत चुलिने गरेको सुनचाँदी महासङ्घको भनाई छ । नेपालमा सुन–चाँदी दुवै आयातमा निर्भर छ ।
विश्व बजारमा हुने उतारचढावले स्थानीय बजारमा पनि सीधा प्रभाव पर्ने गर्छ । यस्तै, यहाँको माग र आपूर्तिले पनि मूल्य निर्धारणमा सामान्य असर गर्ने व्यवसायीहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस २ हजार ६२.९ डलर र चाँदी प्रतिऔंस २३.८ डलरमा कारोबार भएको थियो । अङ्ग्रेजी नयाँ वर्षको सुरुवात सँगै सुनचाँदीको कारोबार कस्तो रहला भन्ने सबैको चासो बढेको छ ।
प्रतिक्रिया