किसानले पाएनन् दूधको मूल्य : डिडिसीमा करोडौं भ्रष्टाचारको आशंका

मंगलबार, २४ पुस २०८०, १२ : ००

काठमाडौं – दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई सरकारले जिम्मेवारीबाट हटाएको छ । दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको सहित विभिन्न १० आरोपमा उनीमाथि छानबिन सुरु भएको छ । 

 झामाथि लागेका आरोपमाथि अनुसन्धान गरी  कारबाही प्रक्रिया अघि बढ्ने मन्त्रालय स्रोतले बताएको छ । डिडिसी स्रोतले दिएको जानकारी अनुसार विगतमा क्षेत्रीय कार्यालयबाटै दूध खरिद तथा बिक्रीको रकम संकलन र भुक्तानी गर्दै आएकोमा झा आएयता सबै रकम केन्द्रीय कार्यालयमै संकलन र यतैबाट भुक्तानी गर्दै आएका थिए । 
 नियमित प्रणालीमा दूध बिक्री गरेको १७ करोड रुपैयाँ दाखिला भएको नदेखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘करिब दुई वर्षको अवधिमा दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला भएको देखिएन । यसबारे सोधीखोजी गर्दा सन्तोषजनक जवाफसमेत नआएको र झाले अपचलन गरेको आशंका देखिएपछि उनलाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको हो,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार झा सुरुवातदेखि नै आर्थिक अपचलनमा क्रियाशील भएका कारण संस्थानले उनको कार्यकालको दुवै वर्ष नोक्सानी खेपेकोसमेत आरोप लाग्दै आएको छ । संस्थान ०७८/७९ मा ३७ करोड र ०७९/८० मा ६० करोड रुपैयाँ नोक्सानीमा गएको छ ।यसरी संस्थान घाटामा जानुमा महाप्रबन्धक झाको कार्यशैली नै मुख्य जिम्मेवार रहेको मन्त्रालय स्रोतको दाबी छ ।  झामाथि किसानबाट खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न सक्रियता नदेखाएको समेत  आरोप छ 

गत २२ मंसिरमा मन्त्री भुसालको उपस्थितिमा  डिडिसीको बोर्ड बैठक राखिएको थियो । सो बैठकले पुराना सामान बिक्री गरी रकम जोहो गर्ने र किसानको बक्यौता तिर्दै जाने निर्णय गरेको थियो । तर, लिलामी गर्ने पुराना सवारीसाधनको सोधीखोजी गर्दा इन्जिन झिकेर बिक्री गरेको भेटिएको छ । स्रोतले भन्यो, ‘यो कार्यमा उनको पनि संलग्तना रहेको आशंका छ ।’

महाप्रबन्धक झाले गत वैशाखमा दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेका थिए । तर, सञ्चालक समितिले हालै गरेको एक अध्ययनमा उनको दाबी झूटो साबित भएको छ ।  जेठमा किसानबाट संकलन भएको दूध बिक्री नभई पाउडर बनाएर गोदाममा थन्क्याएर राखेको पत्ता लागेको छ । स्रोत भन्छ, ‘कमिसनका लागि भारतबाट कच्चा दूध ल्याउन मन्त्रालयमा प्रस्ताव पेस गरेको प्रारम्भिक अनुमान छ । नत्र जेठमा गोदाममा धुलो दूध मौज्दात नहुनुपर्ने हो,’  यस विषयमा बुझ्न निलम्बित महाप्रबन्धक झालाई पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन । संस्थानमा सम्पर्क गर्दा एक जना कर्मचारीले भने, ‘ जिएम साब तनाबमा हुनुहुन्छ । उहाँको व्यक्तिगत फोन हामीले दिने गरेका छैनौं । दुः ख नमान्नुहोला । 

झा माथि लागेका आरोपहरु :

  •  दूध बिक्री गरेको १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्चेको
  •  लिलामीमा राखिएका पुराना सवारीसाधनको इन्जिन बेचेर रकम अपचलन गरेको
  •  पाउडर दूध गोदाममा थन्क्याएर भारतबाट कच्चा दूध किन्न लबिइङ गरेको
  •  बक्यौता नतिरेसम्म कर्मचारीको अतिरिक्त सुविधा कटौती गर्न दिएको निर्देशन कार्यान्वयन नगरेको
  •  किसानको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको
  • आर्थिक लाभ लिएर कर्मचारीको सरुवा-बढुवा गरेको
  •  निरन्तर अख्तियारको छानबिनमा परेको
  •  पोखरा र सुर्खेतमा बजार विस्तारको योजना बनाउन नसकेको
  •  सवारीसाधन र इन्धनको प्रयोगमा अर्थ मन्त्रालयको परिपत्रअनुसार मितव्ययी नभएको
  •  महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड संस्थान घाटामा गएको
मंगलबार, २४ पुस २०८०, १२ : ००

प्रतिक्रिया